किसानलाई धान बेच्न सकस : सरकारको कोटा र अव्यवस्थाले खेतदेखि बजारसम्म निराशा

कञ्चनपुर । वर्षात् र खडेरीको मार, मल र बिउको अभाव झेल्दै उत्पादन गरेको धान बेच्न पनि किसान सकसमा परेका छन् । सरकारद्वारा तोकिएको न्यूनतम मूल्यमा धान बेच्ने आशा बोकेका किसान अहिले कोटा र अव्यवस्थाको झमेलामा परेका छन् । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदको कोटा घटाएपछि किसानहरू धान बेच्नै नपाउने डरले रातदिन लाइनमा बसिरहेका छन् ।

यस वर्ष कैलालीमा पहिलो चरणमा ३५ हजार क्विन्टल मात्र धान खरिदको अनुमति दिइएको छ । जोशीपुर, मोहनपुर, टीकापुरलगायतका खरिद केन्द्रमा किसानहरू रातभर लाइनमा बसेका छन् । जोशीपुरका किसान दिलबहादुर कठरियाले रातदिन लाइनमा बसेर पनि पालो नआएको गुनासो गर्दै जनशक्ति अभाव र एउटै काँटाले समस्या झन् बढाएको बताए । किसानहरू तोरी र गहुँ छर्ने समयसमेत छोडेर धान बेच्न लाइनमा उभिएका छन् । खाद्यले सरकारले तोकेको मूल्य — मोटा धान प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ ८१ पैसा मा खरिद गरिरहेको छ । हालसम्म कैलालीका विभिन्न केन्द्रबाट १२ हजार ५२७ क्विन्टल धान खरिद भएको जनाइएको छ ।

टीकापुरमा अवस्था अझ कठिन छ । जानकी गाउँपालिका–३ लायकपुरका किसान फुकुराम चौधरी तीन दिनदेखि पालो कुरिरहेका छन् । उनले घरबाट खाना मगाएर डिपोमै बस्नुपरेको बताए । जानकी गाउँपालिका–८ का हरि चौधरी पनि चार दिनदेखि पालो कुर्दै छन् । रातभर लामखुट्टेले टोक्ने, घरबाट खाना ल्याउने र राँगालाई पानी खुवाउन नदीसम्म लैजानुपर्ने बाध्यताको कथा उनीहरूले सुनाएका छन् । टीकापुर खरिद केन्द्रमा शुक्रबार साँझसम्म पाँच सयभन्दा बढी ट्याक्टर, पावर टिलर र डन्लब लाइनमा थिए । दुई काँटामा ३२ जना कामदारले धान जोख्ने काम गरे पनि किसानको भिड घटेको छैन ।

कञ्चनपुरमा अवस्था अझ निराशाजनक छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको महेन्द्रनगर शाखाले एक स्थानबाट मात्रै धान खरिद गर्दा धेरै किसान सस्तोमा व्यापारीलाई धान बेच्न बाध्य भएका छन् । झलारी बजारमा गत वर्ष सञ्चालनमा रहेको डिपो यस वर्ष नखोल्दा किसानहरूले प्रतिक्विन्टल आठ सय रुपैयाँ कममा धान बेच्नुपरेको गुनासो गरेका छन् । शुक्लाफाँटा र कृष्णपुर क्षेत्रका किसानहरू पनि यस्तै समस्यामा परेका छन् । बेलौरी र पुनर्वासका किसानलाई त धान बिक्रीका लागि महेन्द्रनगरसम्म लैजानै पर्ने हुँदा भाडा र ढुवानी खर्च थपिएको छ ।

स्थानीय निजी मिल र खाद्य भण्डारहरूले अहिले धान प्रतिक्विन्टल दुई हजार पाँच सयदेखि दुई हजार सात सय रुपैयाँमै खरिद गरिरहेका छन् । सरकारी मूल्यभन्दा निकै कम दरमा धान बेच्न बाध्य किसानहरू भन्छन्, “धान उत्पादन गरेर पनि बेच्न नपाउने अवस्था भयो, अब खेती गर्ने जोश नै हराउँदै छ।”

कैलालीमा बसेको सरोकारवालाको बैठकले धान खरिद कोटा बढाएर कम्तीमा तीन लाख क्विन्टल पुर्‍याउन माग गर्दै केन्द्रीय कार्यालयमा पत्र पठाएको भए पनि निर्णय कागजमै सीमित रहँदा किसानको पीडा अझै बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *