‘हाम्रो एकताले एमालेको सातो गयो’ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले आफूहरूले सुरु गरेको एकता अभियानका कारण नेकपा (एमाले)का नेताहरूको सातो गएको टिप्पणी गरेका छन् ।

बुधबार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकताले नेपालको राजनीतिमा नयाँ तरंग ल्याएको बताए ।

उनका अनुसार, कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरू आफूहरूको एकताबाट विचलित भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले भने, ‘हाम्रो एकता अभियानले कतिपयको होस हवास गुमाएको छ, तर होस गुमाउनु आवश्यक छैन, गालीगलौजमा उत्रिनु पनि पर्दैन । बरु हामीलाई धन्यवाद दिनुहोस् ‘मैले बिगारेँ, तपाईँहरूले सपार्दै हुनुहुन्छ’ भनेर धन्यवाद प्रस्ताव पास गर्नुस्, त्यसले हाम्रो घाउमा मल्हम लगाउनेछ ।’

नेपालले मातृभूमि जागरण अभियान नेपाल र नेपाली कम्युनिष्ट पार्टीबिच भएको एकतालाई ऐतिहासिक कदम भन्दै यसप्रति सबैलाई गौरव गर्न आग्रह गरे । उनले एकताको प्रक्रिया अझै अघि बढिरहेको र यसले देशको वाम आन्दोलनलाई नयाँ दिशा दिने विश्वास पनि व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *