‘सरकारले श्रीमतीको अवस्थाबारे एक शब्द पनि सोधेन’ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको हमलापछि सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गरेका छन् । जेनजी आन्दोलनका क्रममा उनको घरमा आगजनी गरी हत्या प्रयास गरिएको थियो ।

चार दशकभन्दा लामो समय फिजिक्सको प्राध्यापक रहेकी चित्रकार गम्भीर घाइते भएकी छन् र अहिले अस्पतालमा उपचाररत छिन् । खनालले सरकारले चित्रकारको अवस्थाबारे एक शब्द पनि नसोधेको भन्दै प्रश्न उठाएका छन् ।

उनले यो प्रश्न व्यक्तिगत मात्र नभएको बताए । चार दशक देशलाई योगदान दिने प्राध्यापकको उपचारमा सरकारमाथि उनले प्रश्न गरे । सरकारले जेनजी घाइतेलाई निःशुल्क उपचारको घोषणा गरे पनि पूर्वप्रधानमन्त्रीकी श्रीमती भएकै कारण चित्रकारको उपचारमा मौन छ ।

घटनाको क्रूरताले खनाल परिवार मात्र होइन, धेरैलाई स्तब्ध बनाएको छ । आन्दोलनकारीले खनालको घर पूरै जलाएका छन् । सम्पत्ति नष्ट भएको छ ।

आफूसँग धेरै सम्पत्ति नभएको बताउँदै उनले ७० रोपनी जग्गामध्ये ५५ रोपनी सरकारलाई दिएको उल्लेख गरे । त्यसैमा इलाममा सिटिइभिटीको कार्यालय बनेको छ ।

सरकारले जेन–जीका मृतक र घाइतेलाई राहत, उपचार र शहीद घोषणा गर्ने नीति ल्याएपनि खनाल दम्पतीप्रति पूर्ण मौन छ ।

यो घटना राजनीतिक हमलाको शिकार बनेका पूर्वनेताको परिवारप्रतिको उपेक्षा मात्र होइन, योगदान दिएका व्यक्तिको सुरक्षा र सम्मानमा राज्यको असफलता हो । खनालको सार्वजनिक अपिलले सरकारमाथि दबाब बढाएको छ । यसबारे अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जवाफ दिनुपर्ने उनको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *