काठमाडौं । नेपालमा वैदेशिक रोजगारमा रहेका नेपालीले पठाउने रेमिट्यान्स यस वर्ष ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएर नयाँ कीर्तिमान बनेको छ। मासिक आधारमा यो रकम हालसम्मकै उच्च हो।
यसअघि २०८२ असारमा १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ भित्रिँदै सबैभन्दा ठूलो मासिक भित्र्यौटीको रेकर्ड बनेको थियो। तर अहिले असोजको रेमिट्यान्सले त्यो रेकर्डलाई समेत पार गरेको छ।
चालु आर्थिक वर्षका पहिलो तीन महिना साउन, भदौ र असोजसम्म रेमिट्यान्स ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिभन्दा ३५.४ प्रतिशत बढी हो। गत वर्ष यही अवधिमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ आएको थियो।
वैदेशिक रोजगारतर्फ जाने श्रमिकको संख्यामा उच्च वृद्धि रेमिट्यान्स वृद्धि हुने मुख्य कारण देखिएको छ। चालु आर्थिक वर्षका तीन महिनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख २३ हजार ४५९ पुगेको छ भने पुनः श्रम स्वीकृति लिने ७७ हजार २५७ जनासम्म पुगेका छन्। यी दुवै संख्या गत वर्षको तुलनामा उल्लेख्य रूपमा उच्च छन्।
अमेरिकी डलरमा मापन गर्दा, तीन महिनामा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड डलर पुगेको छ। यो वृद्धि दर अघिल्लो वर्षको १०.६ प्रतिशतभन्दा तीनगुना बढी हो।
साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड र भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रेमिट्यान्स भित्रिएको अवस्थामा, असोजको रेकर्डले नेपाली अर्थतन्त्रमा विदेशी श्रमिकको भूमिका अझै महत्वपूर्ण बन्दै गएको स्पष्ट देखाएको छ।
