पाल्पाको ढोलीमारामा सामूहिक किवी खेतीको सफलता: ८ सय बोटबाट लाखौँको आम्दानी

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पा ढोलीमारामा गरिएको सामूहिक किवी खेती यस वर्ष उत्कृष्ट उत्पादनसहित सफलता हासिल गर्न सफल भएको छ। २५ रोपनी जग्गामा लगाइएका ८ सय किवीबोटबाट ७ क्विन्टलभन्दा बढी फल टिपिएको किसान डोलबहादुर घर्तीले जानकारी दिएका छन्। यस वर्ष किवीको बिक्रीबाट करिब २ लाख ८० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

ढोलीमारा गाउँका ६० जना किसानहरु एकीकृत भएर जल्पादेवी कृषक समूहमार्फत किवी खेती गर्दै आएका छन्। रोपाइँ गरेपछि ३–४ वर्षमै फल दिन सुरु गर्ने किवीबृक्ष यो क्षेत्रमा २०७३ सालदेखि व्यावसायिक रूपमा रोपिन थालिएको समूहका अध्यक्ष भिमबहादुर सारुले बताए।

गत वर्षहरूमा कम उत्पादनका कारण स्थानीय बजारमै खपत हुने किवी यस वर्ष उत्पादन वृद्धि भएपछि किसानमा थप उत्साह देखिएको छ। उत्पादनलाई ग्रेडिङ गरी A ग्रेड किवी प्रतिकिलो ४०० रुपैयाँ र B ग्रेड प्रतिकिलो ३५० रुपैयाँ दरले बिक्री वितरण भइरहेको समूहले बताएको छ। पौष्टिक फलको रूपमा किवीप्रति उपभोक्ताको आकर्षण बढेकाले दूरदराजसम्म बजार खोज्न नपरेको किसानहरूको भनाइ छ।

सामूहिक मेहनत, एकता र किसानहरूको सक्रियताले प्राप्त सफलतामा पूर्वखोला गाउँपालिका, जल्पा वडा कार्यालय तथा डिभिजन वन कार्यालय पाल्पाको उल्लेखनीय सहयोग रहेको छ। समुद्री सतहदेखि करिब १२ सय मिटरमाथि उत्पादन उपयुक्त हुने किवीबृक्ष परीक्षण खेतीमै राम्रो देखिएपछि व्यावसायिक रूपमा विस्तार गर्न स्थानीय तहले लगानी बढाएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए।

पहिलो वर्ष डिभिजन वन कार्यालयबाट किवीका बिरुवा उपलब्ध गराइएको थियो भने गाउँपालिकाबाट तारजाली, फलामका ट्रस लगायत सहायक सामग्री सहयोग गरिएको थियो।

यसैबीच, किवी खेती क्षेत्र विस्तारको योजना यस आर्थिक वर्ष पनि रहेको जल्पाका वडा अध्यक्ष निरबहादुर सारुले जानकारी दिए। दैनिक जनश्रमदानमै जुट्ने किसानको मेहनतको मूल्य उठाउन अझै समय लाग्ला, तर किसानको उत्साह र निरन्तर ऊर्जा कायम रहे सामूहिक समृद्ध समाज निर्माण टाढा नहुने स्थानीयको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *