ईश्वर पोखरेलको अध्यक्ष दाबी: ओलीलाई ‘अभिभावक’ भूमिकामा बस्न आग्रह, भण्डारीलाई पार्टीमा फर्काउने घोषणा

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औं महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन्। देशभरका कार्यकर्ताले गरेका आग्रह–सुझावलाई स्वीकार गर्दै आफू नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको यात्रामा अघि बढ्न तयार भएको उनले बताए।

विज्ञप्ति मार्फत पोखरेलले भने, “पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरका साथिहरूले गर्नुभएको आग्रहलाई सम्मान गर्दै अध्यक्षको उम्मेदवारी घोषणा गरेको हुँ।”
उनका अनुसार योग्यताअनुसार जिम्मेवारी बाँडफाँड गर्दै सामूहिक नेतृत्व निर्माण गर्न आफू प्रतिबद्ध छन्।

यससँगै उनले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरणमा सकारात्मक र अभिभावकीय भूमिका खेलिदिनुपर्ने अपेक्षा समेत व्यक्त गरे। “अब ओलीजीले अभिभावकको भूमिका निभाई पार्टीलाई सहज निकास दिनुपर्छ,” पोखरेलको भनाइ छ।

पोखरेलले पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी काममा फर्काउने वातावरण बनाइनुपर्नेमा पनि जोड दिए।
उनका अनुसार चार दशकभन्दा लामो राजनीतिक योगदान भएकी भण्डारीलाई पार्टी सदस्यताबाट टाढा राखिएको निर्णयले संगठनात्मक एकता र वैचारिक शक्ति कमजोर बनाउने खतरा छ।
उनले भने, “विद्यादेवी भण्डारीले राष्ट्रपतिजस्तो गरिमामय जिम्मेवारी पूरा गरेसँगै पुनः पार्टीमा फर्कने चाहना राख्नु गौरवको विषय हो। उनीलाई फर्कने सहज वातावरण बनाइनेछ।”

पोखरेलको घोषणाले आगामी महाधिवेशनमा एमाले नेतृत्वमा नयाँ प्रतिस्पर्धा र दिशानिर्देशनबारे व्यापक बहस सुरु भएको संकेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *