श्रमजीवी पत्रकारको हकहितमा समाजवादी प्रेस संगठन सक्रिय, वाम एकतालाई स्वागत

काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालले श्रमजीवी पत्रकारको पेसागत सुरक्षा र हकहितलाई सशक्तरूपमा अघि बढाउने घोषणा गरेको छ।

संगठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा बसेको आजको कार्यालय बैठकले पत्रकार अधिकारको अभियानलाई अझै व्यापक र प्रभावकारी बनाउने निर्णय गर्दै संगठन बाहिर रहेका तथा अन्य प्रगतिशील पत्रकारहरूलाई पनि सहभागी हुन आह्वान गरेको छ।

बैठकले हालै नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) लगायत विचार मिल्ने वामपार्टीहरूबीच भएको एकतालाई सकारात्मक उपलब्धि बताउँदै त्यसको स्वागत गरेको छ। संगठनले वाम शक्तिबीच सुरु भएको ध्रुवीकरण प्रक्रियालाई सहज र सहयोगी ढङ्गले लिने तथा आवश्यक वातावरण निर्माणमा पनि सक्रिय भूमिका खेल्ने निर्णय गरेको उपमहासचिव प्रेम गौतमले जानकारी दिए।

कम्युनिस्ट आन्दोलनमा निरन्तर देखिँदो विभाजन र विघटनका बीच प्रगतिशील शक्तिहरूको एकताले आम जनतामा नयाँ आशा र उत्साह जगाएको ठहर बैठकले गरेको छ। साथै, एकताबद्ध भएका पार्टीका भातृ संगठनहरूबीच हुने संरचनात्मक एकीकरण सम्मानजनक र समावेशी हुनुपर्नेमा बैठकले जोड दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *