काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमको धनगढीमा शुक्रबार आफ्नो पहिलो एकता सन्देशसभा सम्पन्न गर्यो। जेनजी विद्रोहपछि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र अन्य स–साना १५ वामपन्थी घटक मिलेर बनेको नयाँ पार्टीको सभामा जनसमर्थन उच्च देखियो।
एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावल सोही प्रदेशका हुन्, जसले सभामा आफ्नो प्रभावशाली उपस्थितिबाट पार्टीको शक्ति प्रदर्शन गरे। भर्खरै एमाले छोडेका प्रकाशबहादुर शाहसहित सयौँ नेता तथा कार्यकर्ता यस कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरे। रावलको उपस्थितिले आगामी निर्वाचनमा एमालेलाई ठूलो झटका लाग्ने चर्चा चलेको छ।

सभाका समापन सम्बोधनमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन तयारीमा जुट्नुपर्नेमा जोड दिंदै, एमाले संसद् पुनर्स्थापनाको मुद्दामा सर्वोच्च अदालत पुगेकोप्रति आक्रोश व्यक्त गरे। उनले भनिन्, ‘हिजो संसद् विघटन गर्ने, आज संसद् पुनर्स्थापना माग्ने कस्तो उल्टो बाटो! अहंकारी, दम्भी नेतृत्वलाई सबक सिकाउने बेला यही हो।’
चिसो पानीमा दल दर्ता गर्न निर्वाचन आयोग पुगेको स्मरण गर्दै प्रचण्डले भने, बाहिर धम्की दिनुको कुनै अर्थ नभएको र सुदूरपश्चिममा पार्टीलाई पहिलो स्थानमा ल्याउन कसैले रोक्न नसक्ने दाबी गरे। जेनजीका असली अभिभावक आफूहरूले नै पार्टीप्रति युवाहरूको आकर्षण बढाएको पनि उनले उल्लेख गरे।

सहसंयोजक माधवकुमार नेपालले ओलीप्रति लक्षित गर्दै रावणसँग तुलना गरे। उनले भने, ‘सबै नेता उस्तै छैनन्। कोही राम छन्, कोही रावण पनि छन्। आफ्नो प्रशंसा मात्र चाहने पनि छन्।’ जेनजी विद्रोहको बेला प्रचण्ड र आफू राष्ट्रपति निवासमा रातभर बसेर संकट समाधानमा पहल गरेको नेपालले बताए।
नेता भीम रावलले ओलीमाथि कटाक्ष गर्दै भने, ‘राष्ट्रिय सुरक्षा परिषद् बैठक समेत बोलाउन नसकेर बालुवाटारबाट भागेका ओली अहिले गुन्डुको दुलामा बसेर हुंकार गर्दैछन्। अहंकारी दम्भीलाई ठीक ठाउँमा ल्याउने काम हाम्रो पार्टीले मात्र गर्न सक्छ। अब हाम्रो पार्टीलाई एक नम्बर बन्नबाट कसैले रोक्न सक्दैन।’ उनले राष्ट्रिय संकटको एक मात्र निकास निर्वाचन भएकोले चुनावी वातावरण बनाउन सरकारसँग आग्रह गरे।

पूर्वमन्त्री गिरिराजमणि पोखरेलले जेनजीले उठाएका मुद्दा जायज भएको उल्लेख गर्दै, ‘नवयुवा जेनजी पुस्ताले गरेको आन्दोलन समर्थन गर्नुपर्छ। राष्ट्रियताको रक्षा र जेनजीको मुद्दा हाम्रो पार्टीले मात्र गर्छ।’
भर्खरै एमाले छोडेका पूर्वकेन्द्रीय सदस्य प्रकाशबहादुर शाहले सुदूरपश्चिमेली गीतमार्फत् ओलीप्रति कटाक्ष गर्दै भने, ‘ओलीको अहंकारले एमालेमा पहिरो गएको छ। तानाशाही बिरालोलाई कठालो समाएर न्याय दिन सक्ने पार्टी हाम्रो हो।’
धनगढीको एकता सन्देशसभाले नेपाली कम्युनिस्ट पार्टीको राजनीतिक मजबुती र आगामी निर्वाचनमा एमालेलाई चुनौती दिने संकेत गरेको छ।
