विराटनगर । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेकपा एमालेको सत्तामुखी राजनीतिले देशलाई परिवर्तनको बाटोमा लान नसक्ने दाबी गरेका छन् । विराटनगरमा आज आयोजित एकता सन्देश सभामा बोल्दै उनले ‘जसरी पनि बालुवाटार पुग्ने’ प्रवृत्ति क्रान्तिकारी आन्दोलनको अपमान भएको टिप्पणी गरे ।
खनालका अनुसार जोसुकैसँग साँठगाँठ गरेर सरकारको ढोका ढक्ढक्याउने अभ्यास नै एमालेले रोजेको बाटो हो, जुन क्रान्तिको बाटो हुनै सक्दैन । उनले भने, ‘जसरी पनि सत्तामा पुग्ने बाटो एमालेको बाटो हो, त्यो क्रान्तिको बाटो होइन । सिद्धान्त र नीतिको आधारमा बनेको हाम्रो एकता यसको वैकल्पिक उदाहरण हो ।’
नेता खनालले पटक–पटक कम्युनिस्ट नेतृत्वमा सरकार आए पनि भूमिसुधार र कृषि क्रान्ति जस्ता मूल एजेन्डा उपेक्षित भएको स्वीकार गरे । संविधान र महाधिवेशनले प्राथमिकता दिए पनि सत्ता पाएपछि कृषि क्रान्ति बिर्सने प्रवृत्ति रहेको उनले बताए ।
उनका अनुसार कृषकको उत्पादनलाई उचित बजार उपलब्ध गराउन नसकुञ्जेल कृषि क्षेत्रको रूपान्तरण सम्भव छैन । भूमिसुधार र कृषि क्रान्ति अब अनिवार्य संकल्प बन्नुपर्नेमा उनले जोड दिए ।
युवाहरू ठूलो संख्यामा विदेशिनु देश औद्योगिकीकरणमा असफल भएको प्रमाण भएको खनालको धारणा थियो । ‘स्वर्गजस्तो देश नै नर्क बनिसक्यो,’ भन्दै उनले नयाँ ढंगले औद्योगिकीकरण गरेर रोजगारी सिर्जना गर्नुपर्ने बताए ।
पार्टी एकताबारे बोल्दै उनले ‘टाउको वा पुच्छर जोड्ने’ प्रकारको एकता होइन, सिद्धान्त र नीतिमा आधारित गम्भीर एकता भएको स्पष्ट गरे । १६ पार्टी एकताबद्ध हुनु यसको उदाहरण भएको उनले बताए ।
खनालले नेपाली विशेषताको समाजवाद आफूहरूको दीर्घकालीन रणनीति र निर्वाचनमा सहभागी हुनु कार्यनीति रहेको उल्लेख गर्दै संसदवादी ढर्रामा होइन, क्रान्तिकारी ढंगले निर्वाचनलाई उपयोग गर्न कार्यकर्तालाई निर्देशन दिए ।
