काठमाडौं । नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले जेनजी आन्दोलनमा प्रहरीले गरेको बल प्रयोगका कारण कुनै पनि प्रहरी कर्मचारीलाई कारबाही गर्न नमिल्ने जिकिर गरेका छन् ।
आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनासहित कुल ७६ जनाको मृत्यु भएको र सयौँ घाइते भएको घटनालाई लिएर अर्घाखाँचीका मकबुल मिया लगायतले दायर गरेको रिटको जवाफमा उनले यस्तो दाबी गरेका हुन् । खापुङले लिखित जवाफमा भनेका छन्-प्रहरीले सार्वजनिक शान्ति-सुरक्षा कायम गर्न र सरकारी सम्पत्ति जोगाउन असल नियतले कानुनसम्मत काम गरेको हुँदा सजाय गर्न नमिल्ने ।
प्रहरी ऐन, २०१२ को दफा ३७ ले असल नियतले कर्तव्य पालना गर्दा कर्मचारीलाई सजाय नहुने स्पष्ट व्यवस्था रहेको उनले स्मरण गराएका छन् । स्थानीय प्रशासन ऐन र प्रहरी नियमावलीअनुसार जिल्लास्तरमा शान्ति-सुरक्षा प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष मातहतमा रहने भएकाले प्रहरी महानिरीक्षकको प्रत्यक्ष भूमिका नरहेको पनि उनको तर्क छ ।
यसबाहेक सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन नआउँदै अदालतबाट कारबाही गर्न नमिल्ने उनले बताएका छन् । रिटलाई ‘मनोगत र भावनात्मक’ भन्दै प्रथम दृष्टिमै खारेज गर्न माग गरेका छन् । खापुङ भदौ १९ मा आईजीपी बनेका थिए । एक हप्तामै सुरु भएको जेनजी आन्दोलन उग्र बन्दा ठूलो धनजनको क्षति भएको थियो ।
