काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न शुक्रबार अपराह्न ४ बजे सर्वपक्षीय बैठक आह्वान गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयले यसबारे जानकारी दिएको हो।
प्रधानमन्त्री कार्कीले सो बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी सबै निकायलाई सहभागी गराईने बताईएको छ। सरकारले निर्वाचन केन्द्रित तयारी र सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ। नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले निर्वाचन केन्द्रित गतिविधिमा सक्रियता देखाइरहेका छन्।
