काठमाडौँ । पुर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले समाजवाद स्थापना गर्ने लक्ष्य पूरा गर्न देशभरका सबै कम्युनिस्ट शक्तिहरू एक ठाउँमा जुट्नुपर्ने बताएका छन्।
आज जनकपुरमा आयोजित पार्टी एकता सन्देश सभामा बोल्दै उनले २०६२/०६३ को जनआन्दोलन पुँजीवादी चरित्रको भएको र त्यसले मजदुर–श्रमिकका आधारभूत अधिकार सुनिश्चित गर्न नसकेको टिप्पणी गरे।
खनालका अनुसार विगतका राजनीतिक परिवर्तनहरूले उत्पीडित समुदायमाथिको विभेद अन्त्य गर्न सकेका छैनन्। उनले विश्वमै पुँजीवादी लोकतन्त्र कमजोर भइसकेको उल्लेख गर्दै नेकपा समाजवादी लोकतन्त्रको दिशामा अघि बढिसकेको बताए।
“नेपाली विशेषताको समाजवाद पुँजीपतिसँगको साँठगाँठबाट होइन, आम जनतासँगको गहिरो गठबन्धनबाट मात्र सम्भव छ,” खनालले भने। “यो धर्ती स्वर्ग हुन सक्ने क्षमता राख्छ, तर समान्ती शासनले यसलाई गरिब देश बनाइदियो।”
उनले कम्युनिस्ट शक्तिहरू एउटै मोर्चामा उभिन सके मात्र देशलाई समृद्ध र न्यायपूर्ण रूपमा अगाडि लैजान सकिने दाबीसमेत गरे।
