नेपालगन्जमा धान उत्पादन बढ्दा किसानको चाप: खाद्य कम्पनीद्वारा १५ हजार क्विन्टल मात्रै खरिद

नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले यस वर्ष बाँकेका किसानबाट हालसम्म करिब १५ हजार क्विन्टल धान खरिद गरिसकेको छ । कात्तिक २३ गतेदेखि सुरु गरिएको खरिद कार्यअन्तर्गत सोमबारसम्म १४ हजार ९३२.२० क्विन्टल धान खरिद भएको कम्पनीका सूचना अधिकारी शिवराज घिमिरेले जानकारी दिए ।

कम्पनीका अनुसार ३९७ जना किसानबाट मोटो धान ९ हजार ९३२.५० क्विन्टल तथा मध्यम धान ४ हजार ९९९.७० क्विन्टल खरिद गरिएको छ। बाँके जिल्लाका लागि निर्धारण गरिएको मध्यम धानको पाँच हजार क्विन्टल कोटा पूरा भइसकेकाले अब मोटो धान मात्र खरिद गरिने कम्पनीले जनाएको छ।

नेपालगन्जका लागि यस वर्ष २० हजार क्विन्टल कोटा तोकिएको छ। कोटा पूरा हुन अब करिब पाँच हजार क्विन्टल धान खरिद गर्न बाँकी रहेको सूचना अधिकारी घिमिरेले बताए । धान बिक्रीका लागि जिल्लाभरबाट ६२५ किसानले सिफारिस आवेदन दिएका मध्ये ३९७ किसानले धान बेचिसकेका छन्। कोटा रहुन्जेल आउने सबै किसानको धान खरिद गरिने कम्पनीको भनाइ छ।

तर, यस वर्ष जिल्लामा धान उत्पादन विगतका वर्षको तुलनामा उल्लेख्य रूपमा बढेपछि किसानले खाद्य व्यवस्था कम्पनीले कोटा वृद्धि नगरेकोमा कडा आलोचना गरेका छन्। केन्द्रमा अनुरोध गर्दा कोटा बढाउन नसकिने जवाफ आएको कार्यालयले जनाएको छ।

डुडुवा–३ का किसान नरेश मौर्यका अनुसार उत्पादन राम्रो भए पनि सरकारी खरिद न्यून हुँदा किसान समस्यामा परेका छन्। बजारका व्यापारीहरुले सरकारले तोकेको मूल्यभन्दा करिब एक हजार रुपैयाँ कममा धान किनिरहेको गुनासो किसानको छ।

सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३,४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य ३,६२८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *