काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार बिदाइ भेट गरेका छन्। तीन वर्षे कार्यकाल पूरा गरी यसै महिना स्वदेश फर्किन लागेका राजदूत सोङले आज दिउँसो सिंहदरबार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन्।
भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। विशेषगरी उत्तरी नाका सञ्चालन र सहजताका विषयमा प्रधानमन्त्री कार्कीले चिनियाँ सहयोगको अपेक्षा व्यक्त गरेकी थिइन्, जसमा राजदूत सोङले सकारात्मक प्रतिक्रिया दिएका छन्।
त्यसैगरी, राजदूत सोङले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आवश्यक सबै प्रकारका सहयोग प्रदान गर्न चीन तयार रहेको प्रतिबद्धता पुनः दोहोर्याएका छन्। यसले दुवै देशबीचको सहकार्य केवल कूटनीतिक तहमा मात्र नभई व्यावहारिक सहयोगमा पनि निरन्तर रहने संकेत गरेको छ।
२०७९ पुसमा राजदूतको जिम्मेवारी सम्हाल्दै काठमाडौँ आइपुगेका सोङले नेपाल–चीनबीच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई अझ उचाइमा पुर्याउने लक्ष्यसहित कार्यभार सम्हालेका थिए। उनको कार्यकालमा द्विपक्षीय सम्बन्ध सुदृढ बनेको भन्दै कूटनीतिक वृत्तमा सकारात्मक मूल्यांकन हुँदै आएको छ।
अंग्रेजी नयाँ वर्ष २०२६ सुरु भएसँगै राजदूत सोङ बेइजिङ जाने तयारीमा रहेको छ।
