निर्वाचन सुनिश्चित भइसकेको छ, अब कुनै शङ्का आवश्यक छैन : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता जगदीश खरेल ले मुलुक अनिश्चितताको अवस्थाबाट बाहिरिँदै स्थिरता र सुनिश्चितताको सकारात्मक मार्गमा अघि बढिरहेको बताएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन पूर्ण रूपमा सुनिश्चित भइसकेको उल्लेख गर्दै उनले अब निर्वाचनको विषयमा शङ्का नगर्न आग्रह गरेका छन्।

वर्तमान सरकार गठनको १०० दिन पूरा भएको सन्दर्भमा नेपाल टेलिभिजन र राष्ट्रिय समाचार समिति (रासस) सँग कुराकानी गर्दै मन्त्री खरेलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन का क्रममा सिर्जित भय, त्रास र अशान्त अवस्थालाई सरकारले छोटो समयमै सामान्यीकरण गर्न सफल भएको दाबी गरे।

उनका अनुसार जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएको र प्रारम्भिक अनुमानअनुसार ८४ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको कठिन अवस्थाबाट देशलाई यहाँसम्म ल्याउन सरकारले समन्वयकारी र जिम्मेवार भूमिका निर्वाह गरेको हो। हाल आमजनमानसमा डर र त्रास क्रमशः कम हुँदै गएको र समाज सकारात्मक दिशातर्फ उन्मुख भइरहेको उनले बताए।

निर्वाचनको तयारी अन्तिम चरणमा

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक कार्यतालिका सार्वजनिक गरी तयारी अघि बढाइसकेको जानकारी दिँदै मन्त्री खरेलले राजनीतिक दलहरू उत्साहका साथ चुनावी प्रक्रियामा सहभागी भइरहेको बताए।

“आठ लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्। आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थापन भइसकेको छ। निर्वाचन आयोग, सुरक्षा निकायका लागि आवश्यक बजेट समेत सरकारले व्यवस्था गरिसकेको छ,” उनले भने।

निर्वाचन समयमै सम्पन्न गराउन राजनीतिक दल र सरोकारवाला निकायसँग निरन्तर संवाद भइरहेको पनि उनले स्पष्ट पारे।

आसन्न निर्वाचनमा ९९ प्रतिशतभन्दा बढी राजनीतिक दलको सहमति रहेको उल्लेख गर्दै मन्त्री खरेलले अधिकांश दल उम्मेदवार सिफारिसदेखि चुनावी अभियानसम्म सक्रिय भइसकेको बताए।

केही दलले सुरक्षासम्बन्धी चासो व्यक्त गरे पनि उनीहरू निर्वाचन र लोकतन्त्रप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले भने, “उहाँहरूले चुनाव बहिष्कार गर्ने भन्नुभएको छैन, त्यसैले शङ्का गर्नुपर्ने अवस्था छैन।”

नेपाल सरकारका प्रवक्ता खरेलले निस्पक्ष, स्वतन्त्र र धाँधलिरहित निर्वाचन गराउनेमा सरकार पूर्ण प्रतिबद्ध रहेको दोहोर्‍याए। अधिकांश फरार कैदी कारागार फर्किसकेको र चुनावसम्म सबैलाई कारागारमा फर्काउने तयारी भइरहेको पनि उनले बताए। यसका लागि गृह प्रशासन सक्रिय रूपमा लागेको उनको भनाइ थियो।

सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय

सरकारले पाएको अर्को कार्यदेशअनुसार सुशासन कायम गर्न खर्चमा मितव्ययिता अपनाइएको र आवश्यकता बाहिरका आयोजनाको बजेट कटौती गरिएको मन्त्री खरेलको भनाइ थियो। सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनेतर्फ पनि सरकारले ध्यान दिएको उनले बताए।

भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा मन्त्री खरेलले विगतजस्तो राज्यका निकायमाथि दबाब दिने अभ्यास अन्त्य गरिएको उल्लेख गरे।
“अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिइएको छ। यसको परिणामस्वरूप १०० दिनमै ३० भन्दा बढी ठूला भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएका छन्,” उनले बताए।

जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता

मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा उठाइएका मुद्दा सम्बोधनका लागि जेनजी पुस्तासँग महत्वपूर्ण समझदारी भएको बताए। आन्दोलनलाई विद्रोह कि आन्दोलन भन्ने अन्योलतालाई अन्त्य गर्दै सरकारले जनआन्दोलनको मान्यता दिएको र सो निर्णय राजपत्रमा प्रकाशित भइसकेको जानकारी दिए।

आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि गठित आयोगले कानुन र विधिअनुसार स्वतन्त्र रूपमा काम गरिरहेको उल्लेख गर्दै उनले आयोगको कार्यक्षेत्रमा सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *