बाल्यकालीन यातना र दिदीको बेपत्ताबारे न्यायको माग गर्दै रिता केसीको गुहार

बालगृह सञ्चालकविरुद्ध पुरक जाहेरी र संगठित अपराधको उजुरी तयारी

काठमाडौँ । बाल्यकालमा आफूमाथि भएको अमानवीय व्यवहार, यातना र दिदीको बेपत्ता प्रकरणमा न्यायको माग गर्दै रिता केसीले राष्ट्रिय प्रेस क्लब, बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गरेकी छीन् । पत्रकार सम्मेलनमा उनका कानुनी सल्लाहकार अधिवक्ता राजेन्द्र शर्मा र साक्षीका रूपमा अवकाश प्राप्त प्रहरी मीन प्रसाद सिग्देलले पनि आफ्ना धारणा राखेका थिए।

पत्रकार सम्मेलनमा बोल्दै रिता केसीले अभिभावक गुमाएपछि राज्य र समाजको संरक्षण पाउनुपर्ने उमेरमै आफू शोषण, यातना र अन्यायको सिकार बनेको पीडादायी अनुभव सार्वजनिक गरिन्। उनका अनुसार परिवार सरकारी क्वाटरमा बस्दै आएको अवस्थामा आफू पाँच वर्षको हुँदा बुबा–आमाको मृत्यु भएको बताइयो र त्यसपछि ‘मामा’ भनेर चिनाइएको एक व्यक्तिलाई तीन भाइबहिनीको जिम्मा दिइयो।

“हामीलाई संरक्षण होइन, यातना दिइयो,” उनले भनिन्, “अनाथालय लगियो र अन्ततः मेरी दिदीलाई नै बेपत्ता पारियो।” रिताले आफ्नो जीवनकथालाई तोडमोड गरेर प्रस्तुत गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै सत्य बाहिर ल्याएर न्याय दिलाउन आग्रह गरिन्।

बालगृह सञ्चालकविरुद्ध कानुनी कारबाहीको तयारी

रिता केसीले आफू, दिदी सीता र भाइ प्रकाशसँग सम्बन्धित घटनामा संलग्न बालगृहका सबै सञ्चालक तथा अन्य व्यक्तिविरुद्ध पुरक जाहेरी दर्ता गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिइन्। उनका अनुसार २०४८ सालमा बालगृहमा यातना पाएपछि पाटन अस्पतालमा उपचारका क्रममा संकलित बयान र प्रमाणका आधारमा तयार गरिएको डा. निलम अधिकारीसमेतको प्रतिवेदनले बाल यौन दुर्व्यवहार, यातना, बेपत्ता पार्ने र विदेशमा बेचबिखनजस्ता गम्भीर अपराध पुष्टि गरेको छ।
उनले सरकारी स्वामित्वको बालमन्दिरमा जागिर खाँदै गोप्य रूपमा निजी बालगृह सञ्चालन गर्ने, बालबालिकाको पहिचान लुकाएर अपराधीसँग मिलेमतो गरी ग्रेस होम नामक बालगृहमा पठाउने तथा पछि आर्थिक अभावको बहानामा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिविरुद्ध कडा कानुनी कारबाही अघि बढाइने स्पष्ट पारिन्।

संगठित अपराधको रूपमा CIB मा जाहेरी दिने तयारी

कानुनी सल्लाहकार अधिवक्ता राजेन्द्र शर्माले बुबा–आमाको रहस्यमय मृत्यु पछि सानै उमेरमा घरबाट बेपत्ता पारिएकी रिता र उनका भाइ प्रकाशका बाल्यकालका साथीहरू फेला परेको जानकारी दिए। उनका अनुसार त्यस समयमा नक्कली ‘मामा’ बनाइएका वर्दीधारी प्रहरी प्रयोग गर्ने, बालबालिकाको पहिचान लुकाउन सहयोग गर्ने, अनुसन्धानलाई कमजोर बनाउने र सत्यका पक्षमा साक्षी नबस्ने व्यक्तिहरूको पहिचान खुलेको छ।
तीमध्ये केही व्यक्ति नेपालमै र केही विदेशमा रहेको सूचना प्राप्त भएको उल्लेख गर्दै शर्माले अब यो प्रकरणलाई संगठित अपराधका रूपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) मा जाहेरी दिने तयारी भइरहेको बताए।

साक्षी अवकाश प्राप्त प्रहरी मीन प्रसाद सिग्देलले आफ्नो सेवाकालमा देखेका र हाल सार्वजनिक भएका तथ्यहरू अत्यन्तै संवेदनशील र पीडादायी रहेको उल्लेख गर्दै राज्यले यस प्रकरणलाई हल्का रूपमा लिन नहुने चेतावनी दिए। “बालबालिकामाथि भएका यस्ता अपराधमा मौन बस्नु भनेको अपराधलाई संरक्षण गर्नु हो,” उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *