काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराएर सोमबार स्वदेश फर्किएकी छन्।
जेनजी आन्दोलनका क्रममा निवासमै भएको आगजनीमा गम्भीर घाइते भई जीवन–मरणको अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था हाल स्थिर र सुधारोन्मुख भएपछि उनलाई नेपाल फर्काइएको हो।
गत २४ भदौमा खनाल दम्पती बसोबास गर्ने घरमा भएको आगजनीमा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको थियो। विशेषगरी देब्रे हातमा गम्भीर चोट लागेपछि त्यसमा सङ्क्रमण फैलिँदै जाँदा उनको अवस्था थप जटिल बनेको थियो।
सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको भए पनि फोक्सोमा निमोनियाको सङ्क्रमण बढेपछि चिकित्सकको सल्लाहअनुसार उनलाई एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो। त्यहाँ लामो समय आइसियूमा राखेर उपचार गरिएको थियो।
सङ्क्रमण नियन्त्रणमा ल्याउन चिकित्सकहरूले कडा प्रयास गर्नुपरेको र अन्ततः सङ्क्रमण फैलिन नदिन कुमभन्दा मुनिको देब्रे हात शल्यक्रिया गरेर काट्नुपरेको थियो। त्यसपछि क्रमशः स्वास्थ्यमा सुधार देखिएपछि उनलाई आइसियूबाट जनरल वार्डमा सारिएको थियो।
पछिल्ला केही सातादेखि उनी अस्पताल बाहिर बसेर नियमित फलोअप र उपचार गराउँदै आएकी थिइन्।
स्वास्थ्य अवस्था स्थिर भएपछि सोमबार साँझ नेपाल एयरलाइन्सको नियमित उडानमार्फत उनी काठमाडौँ आइपुगेकी हुन्।
नेपाल फर्किएपछि चित्रकारलाई काठमाडौँको डल्लुस्थित भाडाको घरमा राख्ने तयारी गरिएको परिवारले जनाएको छ।
