काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले अनुसन्धान प्रक्रिया तीव्र बनाएको छ । आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएलगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि बयान लिने तयारी गरेको जनाएको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार लेखकलाई बयानका लागि उपस्थित हुन आज मंगलबार औपचारिक पत्र पठाइएको हो । यद्यपि, तत्कालीन प्रधानमन्त्री ओलीलाई भने हालसम्म आयोगले पत्र नपठाएको भए पनि लेखकको बयानपछि उनलाई पनि आयोगमा बोलाइने स्पष्ट पारिएको छ ।
ओलीले यसअघि पटक–पटक आयोगसमक्ष बयान नदिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । उनले आयोगलाई बयान दिनुभन्दा आफू गोली खान तयार रहेको टिप्पणीसमेत गरेका थिए । साथै, आयोगले बयानका लागि बोलाए देश ठप्प पार्ने चेतावनीसमेत दिएको आयोगको भनाइ छ ।
आयोगले ओली स्वेच्छाले बयान दिन तयार नभए सुरक्षा निकायको सहयोग लिएर भए पनि बयान लिने तयारी भइरहेको जनाएको छ । कानुनी प्रक्रिया र दायित्वअनुसार कसैलाई पनि अनुसन्धानबाट बाहिर राख्न नहुने आयोगको ठहर छ ।
जेनजी आन्दोलनका क्रममा भएका घटनाको सत्य–तथ्य पत्ता लगाउने उद्देश्यले आयोगले सरोकारवाला व्यक्ति, तत्कालीन जिम्मेवार पदाधिकारी तथा सम्बन्धित पक्षहरूसँग क्रमशः बयान लिने प्रक्रिया अघि बढाएको जनाएको छ ।
