चुनावमार्फत नयाँ नेतृत्व ल्याउन सबै नयाँ शक्ति एकजुट हुनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आगामी प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्। उनले आफू राजनीतिबाट पछि हट्ने सोचमा नरहेको र परिवर्तनको यात्रामा सक्रिय रूपमा सहभागी रहने बताए।

बुधबार सिंहदरबारमा आयोजित आफ्नो १०० दिनको कार्यप्रगति सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले मन्त्री बनेसँगै राजनीतिक रूपमा पनि औपचारिक प्रवेश गरेको उल्लेख गरे। जिम्मेवारीका साथ सरकारमा काम गरिरहेको बताउँदै उनले उपयुक्त समय आएपछि निर्वाचनका लागि आवश्यक निर्णय लिइने स्पष्ट पारे।

“म मन्त्रीका रूपमा सरकारमा आएको मात्र होइन, राजनीतिक यात्रामा पनि अघि बढेको हुँ। जिम्मेवारी बहन गर्दै देशका लागि काम गरिरहेको छु। सही समयमा चुनावका सन्दर्भमा आवश्यक निर्णय लिनेछौँ,” उनले भने।

मन्त्री घिसिङले आगामी निर्वाचनलाई नयाँ, सक्षम र उत्तरदायी नेतृत्व स्थापित गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए। देशमा स्थायी परिवर्तन र सुशासन सुनिश्चित गर्न सबै नयाँ राजनीतिक शक्तिहरू आपसी सहकार्य र एकतामा जानुपर्ने प्रतिवद्धता उनले व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *