शीतलहरबाट राहत दिन वन कार्यालयद्वारा निःशुल्क दाउरा वितरण

रौतहट । शीतलहरका कारण पछिल्ला केही दिनदेखि चिसो अत्यधिक बढेपछि सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ। चिसोबाट प्रत्यक्ष प्रभावित नागरिकलाई राहत दिन डिभिजन वन कार्यालय रौतहटले निःशुल्क दाउरा वितरण कार्यक्रम सञ्चालन गरेको छ।

डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साह का अनुसार चिसो बढेसँगै सार्वजनिक स्थानमा आगो ताप्न प्रयोग हुने दाउरा वितरण सुरु गरिएको हो। चन्द्रपुर नगरपालिका भित्र सर्वसाधारणको बढी ओहोरदोहोर हुने चोक–चौतारा तथा सार्वजनिक स्थलहरूमा दाउरा वितरण गरिएको उनले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत बिहीबार चन्द्रपुर–७ बनबहुअरीस्थित मानवसेवा आश्रममा पनि दाउरा वितरण गरिएको छ। पहिलो चरणमा चन्द्रपुर क्षेत्रका प्रमुख चोकहरूमा निःशुल्क दाउरा उपलब्ध गराइएको र शीतलहरको असर कायमै रहेसम्म आवश्यकताअनुसार थप स्थानमा पनि वितरण गरिने प्रमुख साहले बताए ।

सार्वजनिक स्थानमा दाउरा उपलब्ध भएपछि सर्वसाधारण, बिरामीका आफन्त, ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई चिसोबाट राहत पुग्ने विश्वास कार्यालयले लिएको छ।

चिसोबाट प्रत्यक्ष प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले पालिकाको माग र उपलब्धताको आधारमा दाउरा वितरण कार्य निरन्तर जारी रहने डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *