काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थामा प्रतिनिधि सभा पुनर्स्थापना नहुने स्पष्ट धारणा व्यक्त गरेका छन्। उनले देश अब निर्वाचनतर्फ निर्णायक रूपमा अघि बढिसकेको बताउँदै त्यसको विकल्प नरहेको दाबी गरे।
नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेस र नेकपा (एमाले) पनि अन्ततः निर्वाचनमै केन्द्रित हुने विश्वास व्यक्त गरे। कांग्रेस र एमालेले संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरे पनि राजनीतिक यथार्थ अब चुनावतर्फ मोडिएको उनको भनाइ थियो।
‘निर्वाचनमा एकढिक्का भएर लाग्नुपर्ने समय आएको छ। मलाई विश्वास छ, आज–भोलिदेखि नै नेपाली कांग्रेस र एमाले पनि सम्पूर्ण रूपमा निर्वाचनमै केन्द्रित हुनेछन्,’ उनले भने।
प्रचण्डले न्यायालयमा मुद्दा पुगेको तथ्य स्वीकार गर्दै त्यसबारे भ्रममा नपर्न आम जनता र कार्यकर्तालाई आग्रह गरे। ‘न्यायालयमा जानुभएको छ, तर म स्पष्ट भन्न चाहन्छु , अहिले संसद् पुनर्स्थापना हुँदैन। निर्वाचनको प्रक्रिया अगाडि आइसकेको छ,’ उनले जोड दिए।
उनका अनुसार निर्वाचनबाट पछि हटे देश थप अन्योल र जोखिमतर्फ जान सक्छ। ‘निर्वाचन नभए थप दुर्घटना निम्तिने खतरा हुन्छ। त्यसैले सिङ्गो राष्ट्र निर्वाचनमा केन्द्रित हुनुपर्छ र आम जनतालाई पनि त्यतै आकर्षित गर्न जरुरी छ,’ उनले भने।
कार्यक्रमको अन्त्यमा प्रचण्डले पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर निर्वाचनको तयारीमा लाग्न निर्देशनसमेत दिए।
