काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) इलाम जिल्लाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पूर्व प्रधानमन्त्री झलनाथ खनालसहित विभिन्न तहका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
विजय खम्बुको अध्यक्षतामा साविक नेकपा (एकीकृत समाजवादी) को निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यालय फिक्कलमा सम्पन्न कार्यदल बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष), समानुपातिक तथा राष्ट्रिय सभा तर्फका उम्मेदवारहरूको नाम पार्टी प्रदेश समिति र केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको नेकपाले जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष) तर्फ झलनाथ खनाल, खिनु लङवा, रणबहादुर राई, तेजबहादुर राई र विपिन पोख्रेल सिफारिस भएका छन् ।
यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट ओम गुरुङ, शान्ता बस्नेत, प्रवास शर्मा आचार्य, सुरेन राई (मिसन) र नयन राईको नाम सिफारिस गरिएको नेकपाका नेता हर्क लावती (कान्छा) ले जानकारी दिए ।
समानुपातिक तर्फ खस आर्य समूहबाट झलनाथ खनाल, आदिवासी जनजाति समूहबाट हर्क लावती (कान्छा), खुल्ला समूहबाट भक्त लुङेली, टेकबहादुर राई र लालबहादुर सुब्बा, दलित समूहबाट लक्ष्मण घतानी तथा महिला समूहबाट सावित्री देवी राई सिफारिस भएका छन् ।
त्यसैगरी राष्ट्रिय सभा तर्फ खस आर्य समूहबाट भक्त केसी र सावित्रा गड्तौला, दलित समूहबाट चित्रकला बराइली र दीपक सिन्चिउरी तथा खुल्ला महिला समूहबाट सावित्रा पोख्रेलको नाम सिफारिस गरिएको छ ।
बैठकले पार्टीको नीति, सिद्धान्त, समावेशिता र संगठनात्मक आवश्यकतालाई आधार मानी उम्मेदवार छनोट गरिएको नेकपाका नेता प्रवास शर्मा आचार्यले जानकारी दिए ।
