रवि–बालेनको एकतालाई प्रचण्डको स्वागत, भन्छन्: ‘हामी पनि कम्मर कसेर अघि बढेका छौँ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच भएको ७ बुँदे सहमतिलाई सकारात्मक रूपमा स्वागत गरेका छन् ।

आइतबार साँझ केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै प्रचण्डले निर्वाचनको मुखमा भएको एकता र ध्रुवीकरण स्वाभाविक र सकारात्मक प्रक्रिया भएको बताएका हुन् । रास्वपा र बालेनबीच आइतबार बिहान ७ बुँदे सहमति भएको थियो ।

सञ्चारकर्मीले रवि लामिछाने र बालेन शाहबीचको सहमतिलाई कसरी हेर्नुभएको छ भन्ने प्रश्नको जवाफमा प्रचण्डले आफू यसअघि देखिनै एकताको पक्षमा रहेको उल्लेख गर्दै उक्त सहमतिमा कुनै अनौठोपन नरहेको बताए ।

‘जसलाई मैले पहिलेबाटै समर्थन गर्दै आएको थिएँ, उहाँहरूबीच एकता भएकोमा मलाई कुनै नयाँ वा अनौठो लागेको छैन,’ प्रचण्डले भने, ‘निर्वाचनको समयमा एकीकरण र ध्रुवीकरण हुनु स्वाभाविक हो । जसले एकता गर्नुभएको छ, सबैलाई धन्यवाद छ । सबैले शान्तिपूर्ण रूपमा निर्वाचन गरौँ ।’

उनले आफ्नो नेतृत्वमा १६ वटा दलबीच एकता भइसकेको उल्लेख गर्दै आगामी एक–दुई दिनमै थप ठूला दलसमेत जोडिन सक्ने सम्भावना रहेको संकेत गरे । ‘हामी त आफू चाहिँ कम्मर कसेर अघि बढिरहेका छौँ । हुन सक्छ, एक–दुई दिनमै ठूला पार्टीहरू पनि जोडिन,’ प्रचण्डले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *