देशलाई थप अस्थिरतातर्फ जान नदिन समयमै निर्वाचन अपरिहार्य : गृहमन्त्री अर्याल

मोरङ । गृहमन्त्री ओमप्रकाश अर्यालले देशलाई थप अस्थिरतातर्फ जान नदिन समयमै निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको स्पष्ट पारेका छन्। उनले वर्तमान सरकारको प्रमुख दायित्व निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको बताएका छन्।

बुधबार विराटनगरमा कोशी प्रदेशको समन्वयमा गृह मन्त्रालयद्वारा आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारको उद्देश्य सत्ता लम्ब्याउनु नभई तोकिएको समयमै निर्वाचन सम्पन्न गराउनु रहेको बताए।

उनले निर्वाचन लोकतन्त्रको अनिवार्य अभ्यास भएको उल्लेख गर्दै भने, “निर्वाचनले नागरिक शक्तिलाई शासन प्रणालीमा सहभागी गराउँछ र सरकारलाई वैधानिकता प्रदान गर्छ।” निर्वाचनविना सुशासन कायम गर्न कठिन हुने भन्दै उनले समयमै निर्वाचन नहुँदा देश अस्थिरतातर्फ धकेलिन सक्ने चेतावनी दिए।

“आवधिक निर्वाचन नै सुशासनको बलियो आधार हो,” गृहमन्त्री अर्यालले भने, “ताजा जनादेश प्राप्त सरकारले मात्रै प्रभावकारी रूपमा सुशासन कायम गर्न सक्छ भन्ने तथ्यलाई भुल्नु हुँदैन।”

उनले निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल म्यान्डेटसहित वर्तमान नागरिक सरकार गठन भएको स्पष्ट पार्दै तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताए।

गृहमन्त्री अर्यालका अनुसार शान्ति सुव्यवस्था कायम गर्न तथा निर्वाचनको अनुकूल वातावरण निर्माण गर्न प्रदेश सरकारको भूमिका पनि अत्यन्तै महत्त्वपूर्ण रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *