काठमाडौं । नेपाली मौलिक पहिचान र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ ।
विभिन्न युवा संस्था तथा समूहको आयोजनामा ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने मूल नारासहित यो दिवस मनाइँदै आएको हो । नेपाली समाजको पहिचानका रूपमा रहेको दौरा–सुरुवाल, ढाका टोपी तथा गुन्यु–चोलीलाई विशेषगरी युवापुस्तामाझ लोकप्रिय बनाउने लक्ष्यसहित विसं २०७० सालदेखि प्रत्येक वर्ष जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
दिवसको अवसरमा धेरैले राष्ट्रिय पोसाकमा सजिएका आफ्ना तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मौलिक संस्कृतिप्रतिको अपनत्व प्रकट गरेका छन् । विगत १३ वर्षदेखि निरन्तर मनाइँदै आएको यस अभियानले नेपाली राष्ट्रिय पोसाकको पुनर्जागरण र पहिचान सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएको बताइन्छ ।
औपचारिक रूपमा राष्ट्रिय पोसाकको अभ्यास हटाइएपछि युवाहरूले स्वस्फूर्त रूपमा सुरु गरेको यो अभियान आज राष्ट्रिय पहिचानको सशक्त अभियानका रूपमा स्थापित हुँदै गएको छ । यस अवसरमा आज राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष कार्यक्रम, सांस्कृतिक प्रदर्शन तथा सचेतनामूलक गतिविधिहरू आयोजना गरिएको छ ।
