धनकुटामा सुन्तलाको उत्पादन बढ्दै

धनकुटा । धनकुटा नगरपालिका–३ का किसान खेमप्रसाद भण्डारीको बगानमा सुन्तला पाकेर पहेँलो र भरिपूर्ण देखिन थालेको छ। उनका बगानमा करिब २०० सुन्तलाका बोट छन् र यस वर्ष फल विशेष रूपमा ठूला र गुणस्तरीय छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, तेह्रथुम, परियोजना कार्यान्वयन एकाइ धनकुटाले सुन्तला जोनको रूपमा बगान विभाजन गरी रोग तथा किराको नियन्त्रणका लागि अनुदान दिएकोले उत्पादनमा वृद्धि भएको भण्डारी बताउँछन्। उनका अनुसार, “एक बोटमा करिब ५० किलोभन्दा बढी सुन्तला फल्ने अनुमान छ, गत वर्षको तुलनामा दाना ठूला र राम्रो छन्। तर बाँदर र ठूला व्यापारीको अभावले चुनौती अझै बाँकी छ।”

भण्डारीले २०५२–५३ सालदेखि सुन्तला खेती गर्दै आएका छन्। उनका अनुसार बाँदरको आतंकका कारण धेरै पुराना बगान नष्ट भइसकेका छन् र अधिकांश किसान वैकल्पिक खेतीको खोजीमा छन्। उनका बगानमा दिन–रात परिवारसँगै मेहनत गरेर मात्रै उत्पादन सुनिश्चित गरिएको छ।

विगत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट खनजोतका मिनिटिलर र औंसाकिरा नियन्त्रणका लागि अनुदान प्राप्त भएपछि बगान व्यवस्थापन सजिलो भएको छ। डिभिजन वन कार्यालयले पनि फलफूल र वनजन्य खेतीका लागि अनुदान प्रदान गरेर उत्साह बढाएको छ।

भण्डारीले स्थानीय युवालाई कृषि क्षेत्रमा लगानी गर्ने सन्देश दिन्छन् । उनका अनुसार, “सुुन्तला, एभोकाडो, कफी, चिया, अलैंची जस्ता नगदे बालीबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी सम्भव छ। सरकारको सहजीकरण र बजार व्यवस्थापन भए युवा विदेश जानु नपरी कृषिमा लगानी गर्न सक्छन्।”

सुन्तला बजारमा अहिले प्रतिकिलो १२०–२०० रुपैयाँसम्मको मूल्यमा पाइन्छ। तर धनकुटा बाहेकका बजारमा मूल्य उच्च छ। कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्रबहादुर रानाका अनुसार, गत वर्षको तुलनामा यस वर्ष उत्पादन १०–१५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

धनकुटा नगरपालिका–३, कागते, पात्ले, देब्रेवास र पारिपात्ले क्षेत्रमा उत्पादन बढी हुने गरेको छ। उत्पादन बढेसँगै व्यापारीहरू घरमै पुगेर बगानै मोलेर सुन्तला किन्ने गरेका छन्।

नगरपालिकाले भारतमा हुने ओरेंज फेष्टिवलमा किसानलाई सहभागी गराएर उत्पादन प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्दै आएको छ।
किसानहरू स्थानीय स्तरमै कोल्डस्टोर निर्माण भए सुन्तलाको उचित मूल्य पाउने अपेक्षा राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *