काठमाडौं । खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ । बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले उद्घाटन गर्नुभएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोगमा बनेको उक्त चिस्यान कोठामा दश रेफ्रिजेरेटरमा अट्ने जति खोप भण्डारण गर्न सकिने छ। यसअघि भण्डारण क्षमता कम हुँदा यहाँ कोभिड–१९ विरुद्धको खोप आपूर्ति र वितरणमा समस्या भएको थियो।
थपिएको भण्डारण क्षमताले बागलुङसँगै पर्वत, म्याग्दी र मुस्ताङलाई समेत पुग्ने निर्देशक खड्काले बताउनुभयो। “धौलागिरि क्षेत्रमा खोप भण्डारण र वितरण केन्द्र अब बागलुङ बन्छ”, उहाँले भन्नुभयो, “खोप सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन यसबाट ठूलो मद्दत पुग्छ ।”
निर्देशक खड्काका अनुसार योसहित गण्डकी प्रदेशमा ठूलो क्षमताका चार ‘वाकिङ कुलर’ सञ्चालनमा ल्याइएको छ । यसबाट ५० लाख जनसङ्ख्यालाई पुग्ने खोप भण्डारण गर्न सकिनेछ । गण्डकी प्रदेशको जनसङ्ख्या झण्डै २५ लाख छ ।