काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको प्रस्तावित अमेरिका भ्रमणलाई लिएर उत्पन्न विवादपछि उक्त यात्रा स्थगित भएको छ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एक कार्यक्रममा सहभागी हुने उद्देश्यले मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृति लिइएपछि मन्त्री गुप्ताको अमेरिका यात्रा सार्वजनिक चासोको विषय बनेको थियो।
तर एनआरएनए अमेरिका स्वयंले मन्त्री गुप्तालाई कुनै पनि कार्यक्रमका लागि औपचारिक निमन्त्रणा नदिएको स्पष्ट पारेपछि विवाद चर्किएको हो।
एनआरएनए अमेरिकाको नाममा सार्वजनिक भएका दुई फरक–फरक विज्ञप्तिले झन् अन्योल सिर्जना गर्यो। एक पक्षले कार्यक्रम आयोजना भएको दाबी गरे पनि आधिकारिक एनआरएनएले उक्त कार्यक्रम फर्जी र अनधिकृत रहेको जनाएको छ। साथै, यसमा मानव तस्करीजस्ता गैरकानुनी गतिविधिको आशंका पनि व्यक्त गरिएको छ।
यस विषयले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक आलोचना जन्माएपछि मन्त्री गुप्ताले अमेरिका नजाने निर्णय लिएका हुन्। उनले विभिन्न देशबाट निमन्त्रणा आए पनि अमेरिका भ्रमणको कुनै ठोस योजना नबनेको र अनावश्यक अफवाह फैलाइएको दाबी गरेका छन्। विवादले मन्त्रीको विदेश भ्रमणसम्बन्धी निर्णय प्रक्रियामाथि समेत प्रश्न उठाएको छ।
