नेपालगन्ज ।बाँकेको राप्तीसोनारी गाउँपालिकाले पशुपालक किसानलाई गाईभैँसीको स्याहारसुसार गर्दै दुध उत्पादन स्थिर राख्ने उद्देश्यसहित ‘पशु सुत्केरी भत्ता’ कार्यक्रम लागू गरेको छ ।
गाउँपालिकाको पशु सेवा शाखामार्फत सञ्चालन भएको सो कार्यक्रमअन्तर्गत सुत्केरी गाईभैँसीका मालिकलाई नगद र पोषण सामग्री गरी दुई हजार रुपियाँ बराबरको अनुदान उपलब्ध गराउन थालिएको छ ।
यसमा एक हजार रुपियाँ नगद र अर्को एक हजार रुपियाँ बराबरको भिटामिन, मिनरल र पशु आहार प्रदान गरिनेछ ।
गाउँपालिकाले जारी गरेको कार्यविधिअनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित किसानले निवेदन दिएपछि अनुदान प्रक्रिया अघि बढाइने जनाइएको छ ।
राप्ती सोनारीलाई पशुपालनकालागि उपयुक्त क्षेत्रका रूपमा चिनिँदै आएको छ ।
यहाँको धेरैजसो घरपरिवार दूध उत्पादन, बाख्रा तथा गाईभैँसी पालनमा निर्भर छन् ।
सुत्केरी अवधिमा पर्याप्त पोषण र उचित स्याहार नपाउँदा पशुको स्वास्थ्य कमजोर हुने, बाच्छाबाच्छीको विकासमा असर पर्ने र दुध उत्पादन घट्ने समस्या वर्षौंदेखि देखिँदै आएको यसमा सुधार ल्याउन ‘पशु सुत्केरी अनुदान सञ्चालन कार्यविधि २०८१’ जारी गर्दै व्यवस्थित रूपमा कार्यक्रम अघि सारिएको गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख जयबहादुर कार्कीले बताउनुभयो ।
उहाँका अनुसार सो कार्यविधिमा दुधालु गाईभैँसीको लैनो अवस्थामा थप स्याहार, उचित पोषणमार्फत दुध उत्पादन कायम राख्ने उद्देश्य उल्लेख गरिएको छ ।
त्यस्तै नवजात बाच्छाबाच्छी÷पाडा–पाडीको मृत्युदर घटाउँदै तौल र गुणस्तर कायम राख्ने तथा पशुको दुई वेतबीचको अन्तर कम गरी उत्पादन लागत घटाउने लक्ष्य पनि राखिएको छ ।
सुत्केरी भएपछिका पहिलो दुई महिना सबैभन्दा संवेदनशील मानिने भएकाले यस अवधिमा किसानलाई पोषणयुक्त दाना, भिटामिन र मिनरल उपलब्ध गराएर सघाउने योजना गाउँपालिकाले अघि सारेको गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले बताउनुभयो ।
उहाँका अनुसार यस कार्यक्रमको मूल उद्देश्य किसानलाई राहत दिनु मात्र होइन, दुध उत्पादनलाई स्थिर राख्दै पशु स्वास्थ्यलाई दीर्घकालीन रूपमा सुधार गर्नु पनि हो ।
राप्ती सोनारी गाउँपालिका–२ का किसान शान्ता बुढाले यो कार्यक्रमबाट गाई भैंसीको सुत्केरी अवधिमा चाहिने औषधि, भिटामिन र विशेष दाना किन्न सहज हुने जनाउँदै गाउँपालिकाले कृषकलाई सम्झेर यस्तो काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
राप्तीसोनारीमा धेरै परिवारको आम्दानीको आधार पशुपालन भएकोले यसलाई अझ व्यवस्थित र व्यावसायिक बनाउने उदेश्य र योजना अनुसारनै ‘पशु सुत्केरी अनुदान सञ्चालन कार्यविधि २०८१’ लाई कार्यान्वयन गरिएको गाउँपालिकाले जनाएको छ ।गोप
