काठमाडौं। आगामी फागुन ११ बाट रिक्त हुन लागेको १९ मध्ये १८ राष्ट्रिय सभा सदस्यको निर्वाचन आइतबार सम्पन्न भएको छ । निर्वाचन आयोगले सातै प्रदेशबाट निर्वाचित १८ जना नयाँ अनुहारको अन्तिम नामावली सार्वजनिक गरेसँगै निर्वाचन सम्पन्न भएको हो ।
अब बाँकी एक जना राष्ट्रिय सभा सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन् । आइतबार सम्पन्न भएको निर्वाचनमा चुनावी गठबन्धन गरेका तीन दलका उम्मेद्वारहरु निर्वाचित भएका छन् । गठबन्धन गर्ने दलहरुमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपाल रहेका छन् ।
यी हुन् निर्वाचित नयाँ अनुहार
तीन दलीय गठबन्धनबाट कोशी प्रदेशबाट उम्मेद्वार बनेकी एमालेकी रोश्नी मेचे र सोमनाथ पोर्तेल सांसदमा निर्वाचित भएका छन् भन् कांग्रेसबाट सुनिलबहादुर थापा निर्वाचित भएका छन्। बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन्।
मधेस प्रदेशबाट एमालेकी रेखाकुमारी झा, कांग्रेसका धर्मेन्द्र पासवान र रन्जित कर्ण सांसदमा निर्वाचित भएका छन् भने जसपा नेपालबाट लोकतान्त्रिक समाजवादीका महन्थ ठाकुर निर्वाचित भएका छन्। ठाकुर जसपा र लोसपाका साझा उम्मेद्वार हुन् । दुई पार्टीबीचको एकीकरणपश्चात् उनी उम्मेदवार बनेका हुन् ।
लुम्बिनीबाट कांग्रेसका वासुदेव घिमिरे र चन्द्रबहादुर केसी सांसदमा निर्वाचित भएका छन् भने एमालेबाट रामकुमारी झाँक्री निर्वाचित भएकी छन् । यस्तै, कर्णालीबाट एमालेकी मीनासिंह रखाल र कांग्रेसका ललितजंग शाही निर्वाचित भएका छन्।
गण्डकी प्रदेशबाट एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिना राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्। सुदूरपश्चिम प्रदेशबाट एमालेकी लिलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता गरेका छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् भने ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ एक हजार ५०६ मतदाता रहेका छन् । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल आगामी फागुन २१ बाट प्रारम्भ हुनेछ ।
