जिके पोख्रेलको शब्द–सङ्गीतमा ‘इन्दिरा’ सार्वजनिक, एलिना चौहान र जिकेको युगल स्वर

काठमाडौं । जिके पोख्रेलको शब्द तथा सङ्गीतमा तयार भएको नृत्यप्रधान गीत ‘इन्दिरा’ सार्वजनिक भएको छ । एलिना चौहान र जिके पोख्रेलको स्वरमा सजिएको यस गीतलाई म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।

म्युजिक नेपालमै रेकर्ड गरिएको गीतको रेकर्डिङ नकुल कार्की र अनिल अधिकारीले गरेका हुन् भने प्रकाश खरेलले सङ्गीत संयोजनसहित मिक्सिङ र मास्टरिङ गरेका छन् । फरक स्वाद र ऊर्जा बोकेको ‘इन्दिरा’ गीतले सार्वजनिक भएसँगै दर्शकको ध्यान तानेको छ ।

नृत्य निर्देशनमा चर्चित कोरियोग्राफर राजाराम सिम्खडाको सशक्त उपस्थिति रहेको भिडियोले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्ने क्षमता राखेको देखिन्छ । भिडियोमा लोकप्रिय कलाकारद्वय विमल अधिकारी र स्मारिका ढकालको अभिनय तथा नृत्य कौशल आकर्षक रूपमा प्रस्तुत गरिएको छ ।

अनुभवी छायाँकार राजेश घिमिरेले खिचेको म्युजिक भिडियोको सम्पादन र कलरिङ दीपक विष्टले गरेका हुन् । गीता भुसाल र बाबुराम काफ्लेको लगानीमा बनेको भिडियो नरेन्द्रराज भट्टराईले निर्देशन गरेका छन् ।

गीतकार तथा सङ्गीतकार पोख्रेलका अनुसार लामो समय प्राध्यापन र पत्रकारितामा व्यस्त रहेपछि फेरि सक्रिय रूपमा गीत लेखन र कम्पोजमा फर्किन पाउँदा आफू उत्साहित छन् । ‘डेढ दशकपछि सिर्जनात्मक यात्रामा पुनः फर्किनु मेरो लागि विशेष अनुभव हो,’ उनले भने, ‘गीतको पहिलो स्थायीमै रहेको टुक्काले श्रोतालाई अन्त्यसम्मै सुन्न बाध्य बनाउने विश्वास लिएको छु ।’

उनले ‘इन्दिरा’लाई साङ्गीतिक बजारमा आइरहेका आम गीतभन्दा फरक स्वादको रूपमा चित्रण गर्दै म्युजिक इन्डस्ट्रीका स्थापित गायन तथा अभिनय व्यक्तित्वहरूको सहभागिता र म्युजिक नेपाल जस्तो ‘अर्काइभ च्यानल’बाट रिलिज हुनु नै गीतको बलियो पक्ष भएको बताए ।

दुई पात्र , भट्टराई र ‘इन्दिरा (चन्द्रमा/स्मिता/बबिता/सरस्वती)’ बीचको भेटघाटदेखि मिलनसम्मको कथालाई केन्द्रमा राखेर तयार पारिएको यो म्युजिक भिडियोले प्रेम, नृत्य र कथावस्तुलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *