काठमाडौं । झापा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार तथा प्राध्यापक डा. युवराज संग्रौलाले चुनावमा व्यक्ति भन्दा पनि विचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय प्रेस क्लबको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले झापा–२ का मतदाताले कुनै व्यक्ति विशेष होइन, स्पष्ट विचार र दृष्टिकोणका आधारमा मतदान गर्ने विश्वास व्यक्त गरे।
डा. संग्रौलाले भने, “झापा-२ का मतदाताले व्यक्ति होइन, विचार रोज्नेछन्। अब चुनाव लोकप्रिय अनुहारको होइन, देशलाई सही दिशामा लैजाने विचारको हुनुपर्छ।”
उनले सञ्चारमाध्यमको भूमिकामाथि पनि टिप्पणी गर्दै केही व्यक्तिहरूलाई रातारात ‘हिरो’ बनाइने प्रवृत्तिप्रति असन्तोष व्यक्त गरे। “यसमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ, जहाँ केही चहारात्मक व्यक्तिहरूलाई अचानक अत्यधिक महत्त्व दिइयो,” उनले भने।
झापा-२ मा यसपटक विभिन्न दलका चर्चित उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
एमालेका पूर्वसभामुख देवराज घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्वउपसभामुख इन्दिरा राना मगर, राप्रपाका स्वागत नेपाल र कांग्रेसकी पूर्वमन्त्री सरिता प्रसाईंलगायत उम्मेदवार चुनावी मैदानमा छन्। यस सन्दर्भमा पनि डा. संग्रौलाले पुनः दोहोर्याउँदै भने, “चुनाव व्यक्तिको तुलना गर्ने होइन, विचारको छनोट गर्ने अवसर हो।”
आफ्नो उम्मेदवारीको औचित्यमाथि प्रकाश पार्दै डा. संग्रौलाले देश गम्भीर संकटमा रहेको उल्लेख गरे। “अब बौद्धिक वर्गले केवल भाषण गर्ने समय सकिएको छ,” उनले भने, “देशलाई जोगाउन, नयाँ दिशा दिन र वैकल्पिक राजनीतिक सोच स्थापित गर्न सक्रिय हस्तक्षेप आवश्यक छ। यही जिम्मेवारी बोधका साथ म राजनीतिक मैदानमा उत्रिएको हुँ।”
पत्रकार सम्मेलनमार्फत डा. संग्रौलाले आफ्ना राजनीतिक दृष्टिकोण, प्राथमिकता र भावी योजनाबारे पनि सञ्चारकर्मीहरूलाई जानकारी गराएका थिए।
