काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीकी काठमाडौं क्षेत्र नम्बर–१ की उम्मेदवार कृतु भण्डारी (मेनुका)ले सहिद दिवसको अवसरमा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो चुनावी अभियान औपचारिक रूपमा सुरुवात गरेकी छन् ।
आज थापागाँउमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले सहिदहरूले देखेको लोकतान्त्रिक, न्यायपूर्ण र शोषणमुक्त नेपालको सपना व्यवहारमा उतार्नु आजको पुस्ताको जिम्मेवारी भएको बताईन् । उनले बानेश्वर क्षेत्रलाई जेनजी आन्दोलन र सचेत युवाहरूको संघर्षको केन्द्रका रूपमा उल्लेख गर्दै, आन्दोलनका क्रममा सहादत प्राप्त युवाहरू अपराधी नभई न्याय, समानता र अवसरको माग गर्ने सचेत नागरिक भएको स्पष्ट पारिन् ।
कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर -१ का लागि ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ। कमिटीको संयोजकमा डा. अम्बरध्वज लामा तथा सहसंयोजकमा अनिता कार्कीढोली र सावित्री चौलागाईं चयन गरिएको छ। कमिटीले महिला, युवा, जेनजी पुस्ता तथा शहरी गरिब वर्गलाई केन्द्रमा राखी घरदैलो, संवाद र मुद्दामुखी अभियान सञ्चालन गर्ने जनाएको छ।
भण्डारीले महिला हिंसा, मिटरब्याज तथा सहकारी पीडित, सुकुम्बासी र विस्थापित समुदायका पक्षमा लामो समयदेखि गर्दै आएको संघर्षलाई आफ्नो राजनीतिक पहिचानको रूपमा उल्लेख गर्दै, सही रणनीति र जनतासँग जोडिएको नेतृत्वका कारण काठमाडौं -१ मा विजय सम्भव रहेको विश्वास व्यक्त गरिन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा नेतृ पम्फा भुषाल सहभागी थिएन् भने पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
