काठमाडौं- १ मा नेकपाकी उमेद्वार भण्डारीले सहिदलाई सम्झदै गरिन् चुनावी सुरुवात

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीकी काठमाडौं क्षेत्र नम्बर–१ की उम्मेदवार कृतु भण्डारी (मेनुका)ले सहिद दिवसको अवसरमा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो चुनावी अभियान औपचारिक रूपमा सुरुवात गरेकी छन् ।

आज थापागाँउमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले सहिदहरूले देखेको लोकतान्त्रिक, न्यायपूर्ण र शोषणमुक्त नेपालको सपना व्यवहारमा उतार्नु आजको पुस्ताको जिम्मेवारी भएको बताईन् । उनले बानेश्वर क्षेत्रलाई जेनजी आन्दोलन र सचेत युवाहरूको संघर्षको केन्द्रका रूपमा उल्लेख गर्दै, आन्दोलनका क्रममा सहादत प्राप्त युवाहरू अपराधी नभई न्याय, समानता र अवसरको माग गर्ने सचेत नागरिक भएको स्पष्ट पारिन् ।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर -१ का लागि ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ। कमिटीको संयोजकमा डा. अम्बरध्वज लामा तथा सहसंयोजकमा अनिता कार्कीढोली र सावित्री चौलागाईं चयन गरिएको छ। कमिटीले महिला, युवा, जेनजी पुस्ता तथा शहरी गरिब वर्गलाई केन्द्रमा राखी घरदैलो, संवाद र मुद्दामुखी अभियान सञ्चालन गर्ने जनाएको छ।

भण्डारीले महिला हिंसा, मिटरब्याज तथा सहकारी पीडित, सुकुम्बासी र विस्थापित समुदायका पक्षमा लामो समयदेखि गर्दै आएको संघर्षलाई आफ्नो राजनीतिक पहिचानको रूपमा उल्लेख गर्दै, सही रणनीति र जनतासँग जोडिएको नेतृत्वका कारण काठमाडौं -१ मा विजय सम्भव रहेको विश्वास व्यक्त गरिन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा नेतृ पम्फा भुषाल सहभागी थिएन् भने पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *