काभ्रेपलाञ्चोक । काभ्रे क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार बसुन्धरा हुमागाई न्याय, समानता र परिवर्तनका पक्षधर नेताका रूपमा परिचित हुनुहुन्छ।
बुवा नारायण हुमागाई र आमा पुष्पमाया हुमागाईको कोखबाट वि.सं. २०२७ साल मंसिर २८ गते काभ्रे जिल्लाको तत्कालीन भुमिडाँडा गाविसमा जन्मनु भएका हुमागाई सानैदेखि सामाजिक न्याय र परिवर्तनकारी विचारधारामा क्रियाशील रहँदै आउनु भएको हो।
२६ वर्षकै उमेरमा गाविस अध्यक्ष बनेर नेतृत्वको सुरुवात गर्नु भएका हुमागाई सामाजिक क्रियाकलाप, समानतामूलक समाज निर्माण र जनमुखी विकासका अभियन्ता रहँदै आउनु भएको छ। केही समय शिक्षण पेशामा समेत संलग्न रहनु भएका उहाँ बागमती प्रदेशका सफल कृषि तथा पशुपन्छी विकास मन्त्रीका रूपमा चिनिनु हुन्छ।
मन्त्रीका रूपमा १३ महिनाको कार्यकालमा उहाँले उल्लेखनीय उपलब्धि हासिल गर्नुभएको बताइन्छ। सो अवधिमा कृषि तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित कार्यविधि ८ बाट बढाएर १४ वटा पुर्याइएको, समग्र बागमती प्रदेशका लागि ५५ बुँदे कृषि विकास मार्गचित्र तयार गरिएको र कृषि ऐन तथा पोलिसी विकास बोर्ड ल्याउने तयारी अन्तिम चरणमा पुगेको थियो। तर २०७९ सालकाे नवनिर्वाचित संसदका कारण ती ऐनहरू कार्यान्वयनमा आउन नसकेको उहाँको भनाइ छ।
त्यसैगरी प्रदेशभित्र रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन, किसानका लागि घुम्ती कोषमार्फत ऋण, उत्पादनका आधारमा अनुदान तथा क्षतिपूर्ति, कृषि बीमा र दुग्ध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिने कार्यक्रमको सुरुवात समेत उहाँकै कार्यकालमा भएको थियो।
भौतिक पूर्वाधारतर्फ उहाँको कार्यकालमा जिल्लाभित्र ८–१० वटा ठूला सडक र पक्की पुल निर्माण भएका थिए भने सिंचाइ र खानेपानीका दर्जनौँ योजना कार्यान्वयन भएका छन्। काभ्रेका १३ वटै पालिकामा डिपिआर तयार भई अर्बौँ रुपैयाँ बराबरका विकास योजना पाइपलाइनमा रहेको उहाँले बताउनु भयो।
उत्पादनको गुणस्तर र बजारीकरणलाई प्राथमिकता दिन सके स्वदेशमै दश हजारभन्दा बढी युवालाई रोजगारी सिर्जना गर्न सकिने उहाँको दाबी छ।
काभ्रेको विकासका मुख्य चुनौतीबारे बोल्दै हुमागाईले संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय नहुँदा योजनाबद्ध विकास प्रभावित भएको बताउनु भयो। कार्य विभाजन स्पष्ट नहुँदा एउटै योजनामा दोहोरो खर्च हुने अवस्था सिर्जना भएको भन्दै उहाँले तीनै तहका सरकारबीच सहकार्य र पारदर्शिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
समग्रमा समाजवादी व्यवस्थातर्फको यात्रा बिना मुलुकको रूपान्तरण सम्भव नहुने उहाँको निष्कर्ष छ। “जबसम्म समाजवादको तहसम्म पुगिँदैन, तबसम्म समाजवादी विचार र सिद्धान्तले पूर्ण न्याय पाउँदैन,” उहाँले भन्नुभयो, “समाजवादी यात्रामार्फत् नै देशलाई समृद्धि र रूपान्तरणको बाटोमा लैजान सकिन्छ।”
हाल बसुन्धरा हुमागाई काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा चुनावी मैदानमा हुनुहुन्छ।
यि हुन् हुँमागाईका जित्ने आधार:
सरल स्वभाव र जनमुखी शैलीका नेता हँुमागाईलाई किसान तथा मजदुरका नेताका रूपमा चिनिन्छ । अहिले पनि सार्वजनिक बसमा यात्रा गर्ने उहाँ चोक, चौतारी, चिया पसल र प्रतिक्षालयमा सहजै भेटिनु हुन्छ । पनौती, बेथानचोक, धुलिखेल, बनेपा, भुम्लु, पाँचखाल र मण्डनदेउपुरका नागरिकले सजिलै भेटेर समस्या राख्न सक्ने र नागरिकका समस्यालाई गम्भिर रुपमा लिदै त्यसको सम्धोबन गर्ने नेता भएको कारण आमनागरिकले हुँमागाईलाई सरल र मिजाशिला नेताका रुपमा लिने गरेका छन् ।
हुमागाई २०७४ सालको प्रदेश निर्वाचनमा बागमती प्रदेश सभाका सांसद निर्वाचित भएर नागरिकको योजनादेखि प्रदेश सरकारको नीति कार्यक्रमलाई थप प्रभावकारी बनाउने भूमिकामा निकै सक्रियपूर्वक काम गरेको प्रदेशसभा सदस्यमो रुपमा परिचित छन् । माधवकुमार नेपालको नेतृत्वमा एमालेबाट विद्रोह भएपछि उहाँ नेकपा एकीकृत समाजवादीमा आवद्ध रहँदै बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकासमन्त्रीका रूपमा १३ महिना कार्यसम्पादन गर्ने अवसर पाउनुभएको थियो ।
मन्त्री पदमा रहँदा दुग्ध उत्पादनमा आधारित अनुदान, कृषि तथा पशुपन्छी उपजमा आधारित अनुदान, विपद् तथा महामारी क्षतिपूर्ति कोष, किसान परिचयपत्र वितरण कार्यविधि लगायतका कार्यक्रम लागू गरिएको उहाँको दाबी छ । ती कार्यक्रमका कारण धेरै किसानले प्रत्यक्ष राहत महसुस गरेका छन् ।
पूर्वाधार विकासमा विशेष चासो
स्थानीय पूर्वाधार विकासमा उल्लेख्य काम भएको दाबी गर्दै हुमागाईले अधुरा योजनाहरू छिट्टै सम्पन्न गरिने बताएका छन् । उहाँका अनुसार मण्डनदेउपुर क्षेत्रमा करिब ५० करोड रुपैयाँको लागतमा पुल निर्माणका काम अघि बढेका छन् भने हिले–जलजले तालका लागि ९ करोड रुपैयाँको ठेक्का लगाइसकिएको छ, यद्यपि केही योजना अझै पूरा हुन बाँकी छन् ।
बेथानचोक गाउँपालिकाको एक वडामा ३० करोड रुपैयाँको बजेट विनियोजन गराउन आफूले पहल गरेको उल्लेख गर्दै उहाँले मन्त्री पदमा रहँदा मात्र नभई जिम्मेवारी बाहिर रहँदा पनि विकास बजेट सुनिश्चित गरेको बताउनुभयो ।
‘सडक, खानेपानी, विद्यालय, सिँचाइ, पक्की कुलो र कृषि क्षेत्रमा उल्लेख्य काम गरेका छौँ ।’ उहाँले भन्नुभयो, ‘नीति आयोगबाट प्रस्तावित पाउडर दूध कारखानाको काम बीचमै रोकिए पनि अब रोकिएका योजना पुनःअघि बढाइनेछन् ।’
रयाले–पर्खालचौर–जामे सडक तथा धाराचौर–सूर्यविनायक सडक जस्ता महत्वपूर्ण सडक निर्माण सम्पन्न भइसकेको उल्लेख गर्दै हुमागाईले जनभावना अनुसार विकासका काम गरिएको उहाँको दाबी छ । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा बजेट नपारेको कुनै पालिका नभएको समेत उहाँको भनाई छ ।
‘हामीले जनताको चाहना अनुसार काम गरेका छौँ, त्यसैले आगामी निर्वाचनमा जित सुनिश्चित छ ।’ उहाँले आधारसहित अगाडी सार्दै थप्नुभयो ।
