राजनीतिक परिवर्तनलाई सामाजिक–आर्थिक रूपान्तरणसँग नजोड्दा देश पछाडि पर्यो : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विद्रोह र आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिलाई सामाजिक र आर्थिक रूपान्तरणसँग प्रभावकारी रूपमा जोड्न नसक्दा मुलुक अपेक्षित दिशामा अघि बढ्न नसकेको बताएका छन्।

शनिबार राष्ट्रिय प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तन मात्र पर्याप्त नहुने स्पष्ट पारे। “राजनीतिक संरचना फेरिँदा मात्र देश समृद्ध हुँदैन, त्यसलाई सामाजिक न्याय र आर्थिक अवसरसँग जोड्नुपर्छ,” उनले भने। नेपाल विगतदेखि नै कम विकसित अवस्थामै रहेको उल्लेख गर्दै उनले जनताले सुशासनको प्रत्याभूति अझै महसुस गर्न नसकेको आरोप लगाए।

उनले आन्दोलनपछि प्राप्त उपलब्धिको संरक्षण र कार्यान्वयनको जिम्मेवारी सरकारको भए पनि वर्तमान सरकारले त्यो दायित्व पूरा गर्न नसकेको टिप्पणी गरे। मुलुक अझै संक्रमणकालीन अवस्थाबाट पूर्ण रूपमा बाहिर निस्कन नसकेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना, शिक्षा र स्वास्थ्यमा सहज पहुँच सुनिश्चित गर्न सरकार असफल भएको दाबी गरे। शिक्षा र उपचारका लागि नागरिकले आफ्नो सम्पत्ति बेच्नुपर्ने अवस्था अत्यन्त दुःखद भएको उनले बताए।

अध्यक्ष यादवले वर्तमान निर्वाचन प्रणाली महँगो र विकृत बन्दै गएको आरोप लगाउँदै यसले जनताको वास्तविक प्रतिनिधित्व कमजोर बनाएको धारणा राखे। देशको आर्थिक अवस्था अझै कमजोर रहेको, लगानीका हिसाबले नेपाल असुरक्षित राष्ट्रका रूपमा चिनिएको तथा रेमिट्यान्स दीर्घकालीन समाधान नभएको उनले बताए।

कृषि क्षेत्रलाई प्राथमिकता दिएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उल्लेख गर्दै उनले कृषिमा लगानी बढाउन आग्रह गरे।

युवाहरूलाई देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने कामदारका लागि ‘फ्री भिसा, फ्री टिकट’ व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा पनि उनले जोड दिए।

यादवले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेपालको कूटनीतिक अवस्था कमजोर बनेको टिप्पणी गरे।

नेतृत्वले राष्ट्रिय स्वाभिमान र सुरक्षालाई सुदृढ बनाउन ठोस कदम चाल्न नसकेको आरोप लगाउँदै उनले संघीयता आफ्नो लागि अत्यन्त महत्वपूर्ण विषय भएको बताए।

संघीय संरचनालाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिँदै उनले लोकतन्त्र र अधिकारको संरक्षणका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *