काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौ–३ का प्रतिनिधिसभाका उम्मेदवार रामेश्वर फुयालले ‘जिते पनि सेवा, हारे पनि सेवा’ भन्दै मत मागिरहेका छन् । प्रतिनिधिसभाको निर्वाचन फाल्गुण २१ गते हुँदैछ ।
स्थानीय क्षेत्रमा राम्रो पकड जमाएका उनले जनताको हित नै आफ्नो प्रमुख लक्ष्य भएको बताए । गाउँ विकास समितिका पूर्वअध्यक्षसमेत भएका उनले स्थानीयको समस्या पनि राम्रोसँग बुझेका छन् । ‘म दिनरात जनताको सेवामा नै हुन्छु, सके आफैं सहयोग गर्छु नसकेको ठाउँमा कहाँ कसलाई भन्नुपर्ने हो त्यो गरेको छु’ उनी भन्छन् ‘ राजनीतिमा लागेको एउटा व्यक्तिले जे–जे राम्रो काम गर्नुपर्ने हो त्यो सबै गरेको छु भन्ने लाग्छ ।’ उनले आफूसँग केही प्रश्न भए राख्न पनि मतदातालाई आग्रह गरेका छन् ।
उनले शिक्षा, स्वास्थ्य, खानेपानीका साथै नदी संरक्षण, ऐतिहासिक सम्पदाको संरक्षणका साथै जनताको जनजीविकाको विषयलाई प्राथमिकतामा राखेका छन् । सांसद हुँदा र नहुँदा पनि जनताको घरदैलोमा पुग्ने गरेका उनी विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । ‘पार्टीमा नै सबै लाग्नुपर्छ भन्ने छैन तर मत भनें मलाई दिए पुग्छ, तपाइको मतको दुरुपयोग हुने छैन’ उनले भने ‘ म त जनताको सेवक हुँ, यस अर्थमा जनताको नोकर नै भने पनि हुन्छ ।’ उनले हिजो पनि जनताबाट टाढा नभएको र आज पनि जस्तोसुकै अवस्थामा पनि जनतासँग नै रहने स्पष्ट पारेका छन् ।
उनी अहिले चुनावी अभियानको क्रममा गाउँगाउँसम्म पुगेका छन् । गाउँमा मतदाताले गरेका गुनासा र समस्यालाई टिपेका उनले आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए । उनी २०७० सालको संविधानसभाको निर्वाचनमा काठमाडौं–३ बाट नै निर्वाचित भएका थिए ।
२०७४ सालको प्रदेशसभामा प्रदेश सांसद जितेका उनी वागमति प्रदेशको मन्त्री पनि भए । मन्त्री हुँदा आफूले गरेका काम पनि उनी मतदातालाई सुनाउँदै आएका छन् । ‘म राजनीतिलाई सेवा ठान्छु, यही अभियानमा अघि बढेको छु, एकपटक फेरि काम गर्ने अवसर पाएँ भनें बाँकी काम पूरा गर्ने छु’ उनले भने ‘विकास र समृद्धि मेरो एजेण्डा हो, यो क्षेत्रका जनताको मुहारमा परिवर्तन ल्याउने जिम्मा अब मलाई दिनुहोला ।’ उनले एमालेको सरकार हुँदा धेरै राम्रा काम भएको दाबीसमेत गरेका छन् ।
