काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति नेपालका प्रमुख राजनीतिक दलहरूले गहिरो चिन्ता व्यक्त गर्दै त्यहाँ कार्यरत लाखौँ नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् । रोजगारी र विभिन्न कारणले खाडी तथा मध्यपूर्वी देशहरूमा बसोबास गरिरहेका नेपालीहरूको सुरक्षालाई संवेदनशील विषय मान्दै दलहरूले सरकारलाई कूटनीतिक र प्रशासनिक रूपमा सक्रिय हुन आह्वान गरेका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका र इजरायलबाट इरानमाथि भएको आक्रमण तथा त्यसपछिको घटनाक्रमले नेपालीहरूलाई जोखिममा पार्न सक्ने उल्लेख गर्दै उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन्। उनले मध्यपूर्वमा कार्यरत नेपालीको सुरक्षा नै अहिलेको प्रमुख प्राथमिकता हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस का सभापति गगन थापा ले सामाजिक सञ्जालमार्फत मध्यपूर्वमा विकसित परिस्थितिले नेपालीहरूलाई जोखिममा पार्न सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्। उनले विदेशमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन, अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै बस्न अनुरोध गरेका छन्।
साथै नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशस्थित नेपाली राजदूतावासलाई त्यहाँ रहेका नागरिकको अवस्थाबारे निरन्तर जानकारी संकलन गरी आवश्यक सहयोग र सुरक्षित व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले युएई, इजरायल, इरानलगायत देशमा रहेका नेपालीलाई सुरक्षित र सजग रहन आह्वान गर्दै सरकार र दूतावासहरूलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गरेका छन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले संयुक्त अरब इमिरेट्स, कतार, बहराइनलगायत खाडी मुलुकहरूमा कार्यरत नेपालीको जीवन, रोजगारी र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्। उनले सम्बन्धित देशहरूमा नेपालीको अवस्थाबारे नियमित र तथ्यगत जानकारी सार्वजनिक गर्नुपर्ने बताएका छन्।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र निवर्तमान सभामुख देवराज घिमिरे लगायत नेताहरूले पनि मध्यपूर्वको पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाका लागि सरकारलाई तत्काल सक्रिय पहल गर्न सुझाव दिएका छन्।
हाल अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि इरानले पनि मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडामाथि जवाफी कारबाही गरेको छ। यस घटनाक्रमका कारण समग्र क्षेत्र नै तनावग्रस्त बनेको छ र त्यसको प्रभाव त्यहाँ कार्यरत नेपाली नागरिकमाथि पर्न सक्ने आकलन गरिएको छ।
राजनीतिक दलहरूले फरक–फरक धारणा राखे पनि यस विषयमा भने एकै स्वरमा नेपाली जनताको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई सचेत गराएका छन्। तस्बिर :AI
