काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई सन्देश पठाउँदै द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बधाई सन्देशमा उनले चीन र नेपाललाई पहाड तथा नदीले जोडिएका परम्परागत छिमेकी मुलुकका रूपमा उल्लेख गर्दै कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षदेखि दुवै देशले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा सम्बन्धलाई निरन्तर अघि बढाउँदै आएको बताएका छन्।
चिनियाँ प्रधानमन्त्रीले नेपाल सरकारको शासन सञ्चालनमा चीनको पूर्ण समर्थन रहेको स्पष्ट पार्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको संरक्षणमा निरन्तर साथ रहने उल्लेख गरेका छन्।
उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य गर्दै चीन–नेपाल उच्चस्तरीय साझेदारीलाई अझ उचाइमा पुर्याउने, विशेष गरी बेल्ट एन्ड रोड पहलअन्तर्गत संयुक्त निर्माणलाई तीव्रता दिने र विभिन्न क्षेत्रका सहकार्यलाई अझ गहिरो बनाउने इच्छा व्यक्त गरेका छन्।
सन्देशमा चीन–नेपाल सम्बन्धलाई विकास तथा समृद्धितर्फ उन्मुख दीर्घकालीन मैत्रीपूर्ण रणनीतिक साझेदारीका रूपमा अगाडि बढाउने लक्ष्य समेत दोहोर्याइएको छ।
