मानव कल्याणका लागि बुद्ध शिक्षा प्रवर्द्धनमा जोड

काठमाडौँ। बुद्ध शिक्षा मानवीय मूल्य, शान्ति, र दार्शनिक दृष्टिकोणले महत्वपूर्ण रहेकाले यसको प्रवर्द्धनमा जोड दिइएको छ।

मेलम्ची घ्याङ गुठीले २५७० औँ वुद्ध जयन्तीका अवसरमा बौद्धमा आयोजित धार्मिक कार्यक्रममा सहभागी वक्ताहरुले विश्व शान्ति तथा मानव कल्याणका लागि बुद्धका उपदेश, दर्शन, जीवन चरित्रको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बुद्ध साहित्यले मानिसलाई प्रेम, अहिंसा र ज्ञानको मार्गमा डोऱ्याई सुखद समाज निर्माण गर्न मार्गनिर्देशन गर्ने विचार व्यक्त गर्नुभयो।

नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले बौद्ध दर्शनले जातजाति, लिङ्ग वा वर्गको विभेद नगरी समानता र समताको वकालत गर्ने बताउँदै समाजमा प्रजातन्त्र, मानव अधिकार, भ्रातृत्व, मानवीय मूल्य र समानता कायम गर्न बौद्ध धर्मका सिद्धान्तहरूलाई उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

गुठी प्रमुख चिनियाँ लामा भूपति बज्रले बुद्ध शिक्षाले मानव मनको अध्ययन, ध्यान, र साधनाका माध्यमबाट मनलाई शुद्ध बनाउने र मानसिक शान्ति प्राप्त गर्ने उपायहरू सिकाउने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा बौद्ध तथा त्यस आसपास क्षेत्रमा शान्ति यात्रा सम्पन्न गरिएको थियो।

बुद्धको अस्थि धातु प्रदर्शन गरिएको परिसरमा
करिब एक लाख भक्तजनले बौद्धनाथ चैत्यको दर्शन गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2