भारतीय किसान नेता राकेश टिकैत चार दिने नेपाल भ्रमणमा, किसान आन्दोलन र कृषि मुद्दामा छलफल

काठमाडौं । भारतीय किसान युनियन (BKU) का राष्ट्रिय प्रवक्ता तथा प्रमुख किसान नेता राकेश टिकैत आफ्नो टोलीसहित चार दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्। टिकैतका अनुसार भ्रमणको मुख्य उद्देश्य नेपाल र भारतबीचको कृषि तथा किसान सम्बन्धलाई थप सुदृढ बनाउनु, किसान आन्दोलनका अनुभव आदानप्रदान गर्नु तथा नेपालको समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सुन्दरताको अवलोकन गर्नु रहेको छ।

नेपाल आगमनका क्रममा ला भिया क्याम्पेसिना (LVC) दक्षिण एशिया क्षेत्रीय समन्वयका सदस्य प्रमेश पोखरेल तथा किसान आन्दोलनका नेताहरू दयालक्ष्मी श्रेष्ठसुरेन्द्र कँडेल लगायतले टिकैतसहितको टोलीलाई स्वागत गरेका थिए। उनीहरू अन्तर्राष्ट्रिय किसान आन्दोलन ‘ला भिया क्याम्पेसिना’ मार्फत जोडिएका छन्।

नेपाल भ्रमणको पहिलो दिन टिकैतले धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको अवलोकन गरेका छन्। उनले मंगलबार बिहान ऐतिहासिक पशुपतिनाथ मन्दिर परिसरको भ्रमण गर्दै नेपालको धार्मिक तथा सांस्कृतिक परम्परा, वास्तुकला र सामाजिक सम्पदाबारे जानकारी लिएका थिए।

त्यसपछि टिकैत नेतृत्वको प्रतिनिधिमण्डलले ऐतिहासिक भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेको थियो। टोलीलाई स्थानीय नेता राजेन्द्र कोजुसहित किसान प्रतिनिधिहरू दयालक्ष्मी श्रेष्ठ, उत्कल सापकोटा र प्रज्वल थापाले साथ दिएका थिए। भ्रमणका क्रममा प्रतिनिधिमण्डलले भक्तपुरको ऐतिहासिक वास्तुकला, परम्परागत सहरी जीवनशैली तथा सांस्कृतिक सम्पदाको अवलोकन गरेको थियो।

सांस्कृतिक भ्रमणसँगै टिकैतको नेपाल भ्रमण किसान आन्दोलनबीचको अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र सहकार्यमा समेत केन्द्रित रहेको छ। पहिलो दिन अपराह्न प्रमेश पोखरेलसहितको टोलीसँग भएको छलफलमा राष्ट्रिय तथा क्षेत्रीय कृषि मुद्दा, किसानका समस्या तथा भारतको सन् २०२०–२०२१ को ऐतिहासिक किसान आन्दोलनबाट प्राप्त अनुभव र सिकाइबारे विस्तृत विचार–विमर्श भएको थियो।

भ्रमणका क्रममा टिकैतले आफ्ना लामो समयदेखिका सहकर्मी तथा किसान नेता प्रेम दंगाल र महासचिव सरिता भुसालसँग पनि भेटघाट तथा छलफल गरेका थिए।

त्यसैगरी, प्रतिनिधिमण्डलले वरिष्ठ महिला आन्दोलनकी नेतृ, पूर्वमन्त्री तथा ला भिया क्याम्पेसिनाको पूर्व अन्तर्राष्ट्रिय समन्वय समिति (ICC) सदस्य शान्ता मानवीसँग पनि भेट गरेको थियो। भेटका क्रममा मानवीले आफ्नो हालै प्रकाशित पुस्तक टिकैतलाई हस्तान्तरण गरेकी थिइन्।

नेपाल भ्रमणका क्रममा टिकैतले सञ्चारकर्मीहरूसँग पनि संवाद गरेका छन्। उनले एभरेस्ट टेलिभिजनगृह सञ्चारलाई अन्तर्वार्ता दिएका छन्।

छलफलका क्रममा टिकैतले भारतीय किसान आन्दोलनका वर्तमान प्रमुख मागहरूबारे जानकारी गराउँदै सन् २०२०–२०२१ को किसान आन्दोलनबाट प्राप्त महत्वपूर्ण रणनीतिक अनुभव र सिकाइहरू साझा गरेका थिए।

नेपाल र भारतका साना तथा सीमान्त किसानहरूले बजारमा पहुँच, कृषि सामग्रीको बढ्दो लागत, उत्पादनको उचित मूल्य, भूमिसम्बन्धी समस्या लगायतका समान प्रकृतिका चुनौतीहरू सामना गरिरहेको प्रतिनिधिमण्डलले जनाएको छ। दुवै देशका किसान आन्दोलनबीच वास्तविक अनुभव, संगठनात्मक रणनीति र संघर्षका सिकाइहरू आदानप्रदान गर्दा क्षेत्रीय खाद्य सम्प्रभुता, किसान अधिकार तथा कृषि न्यायको अभियानलाई थप बल पुग्नेमा छलफलमा जोड दिइएको छ।

राकेश टिकैतको चार दिने नेपाल भ्रमणले नेपाल र भारतका किसान आन्दोलनबीचको सम्बन्ध, सहकार्य र अनुभव आदानप्रदानलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

#सजिलोमिडिया #sajilomedia #BreakingNews #sajilomediadotcom

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2