काठमाडौं । नेपाल भ्यालुअर्स एसोसिएसन (NVA) ले हिमालयन बैंक लिमिटेडविरुद्ध दोस्रो चरणको सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। एसोसिएसनले बैंकसँग धितो मूल्याङ्कनसम्बन्धी नीतिगत तथा व्यावहारिक समस्याको समाधानका लागि पटक–पटक वार्ता र पत्राचार गरे पनि माग सम्बोधन नभएको भन्दै आन्दोलन घोषणा गरेको हो।
सोमबार राष्ट्रिय प्रेस क्लब, अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा NVA का अध्यक्ष इन्जिनियर सञ्जयकुमार महतो, उपाध्यक्ष तथा आन्दोलन समिति संयोजक इन्जिनियर मनिष कर्ण र महासचिव इन्जिनियर अशोक सिलवालले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।
महासचिव सिलवालले जारी प्रेस विज्ञप्ति वाचन गर्दै हिमालयन बैंकसँग सम्बन्धित धितो मूल्याङ्कनका सम्पूर्ण काम यसअघि नै बहिष्कार गरिरहेको र माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने बताए।
उपाध्यक्ष कर्णले NVA मा ६–७ हजार इन्जिनियर एकताबद्ध रहेको दाबी गर्दै बैंकले संघका मागलाई बेवास्ता गरे आन्दोलन थप कडा बनाउने चेतावनी दिए। उनले वर्षौंदेखि मूल्याङ्कन शुल्कमा समायोजन नभएको र अन्य वाणिज्य बैंकसरह समान तथा पारदर्शी व्यवस्था लागू हुनुपर्ने माग राखिएको बताए।
अध्यक्ष महतोले मूल्याङ्कनकर्ताले गरेको मूल्याङ्कनका आधारमा बैंकहरूले ऋण प्रवाह गर्ने उल्लेख गर्दै आफूहरूले काम गर्ने संस्थाविरुद्ध आन्दोलन गर्नुपर्दा दुःख लागेको तर बाध्य भएर आवाज उठाउनुपरेको बताए।
NVA का अनुसार गत साउनमा भएको वार्तामा अन्य वाणिज्य बैंकसरह एकरूप रिपोर्ट ढाँचा, पारदर्शी द्विपक्षीय सम्झौता, सूचीकृत मूल्याङ्कनकर्तालाई चक्रीय प्रणालीमा काम वितरण तथा वैज्ञानिक र एकरूप सेवा शुल्क लागू गर्न माग गरिएको थियो। तर, बैंक व्यवस्थापनबाट सकारात्मक पहल नभएको संघको आरोप छ।
संघले आगामी असोजको पहिलो सातादेखि दोस्रो चरणको आन्दोलन अघि बढाउने जनाएको छ। आन्दोलनअन्तर्गत हिमालयन बैंकसँग सम्बन्धित नयाँ तथा पुराना धितो मूल्याङ्कन, पुनःमूल्याङ्कन (रि-भ्यालुएसन) र प्रगति प्रतिवेदनलगायतका काम अनिश्चितकालका लागि पूर्ण रूपमा बहिष्कार गर्ने जनाएको छ।
त्यस्तै, नेपाल राष्ट्र बैंक, नेपाल इन्जिनियरिङ काउन्सिल र अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत बैंकको नीतिविरुद्ध सार्वजनिक रूपमा आवाज उठाउने, अन्य इन्जिनियर तथा प्राविधिक संगठनसँग ऐक्यबद्धता गर्ने कार्यक्रम पनि संघले घोषणा गरेको छ।
NVA ले हिमालयन बैंकको केन्द्रीय कार्यालय कमलादीसहित देशभरका प्रमुख शाखा कार्यालयमा शान्तिपूर्ण धर्ना दिने तथा माग सम्बोधन नभए केन्द्रीय कार्यालयमा रिले अनशन सुरु गर्ने चेतावनी दिएको छ। आन्दोलनको पहिलो साता देशभरका मूल्याङ्कनकर्ताले कालोपट्टी बाँधेर सांकेतिक विरोध गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ।
संघले आन्दोलनका निर्णयविपरीत बैंकमा लुकिछिपी मूल्याङ्कन गर्ने वा गराउने व्यक्तिको पहिचान गरी सार्वजनिक गर्ने र आवश्यक कानुनी तथा पेसागत कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने जनाएको छ।
NVA ले समस्या वार्ता र संवादमार्फत समाधान गर्न आफूहरू तयार रहेको बताउँदै माग सम्बोधन नभए आन्दोलनका कारण वित्तीय क्षेत्र र सेवाग्राहीमा पर्न सक्ने असुविधाको जिम्मेवारी बैंक व्यवस्थापनले लिनुपर्ने जनाएको छ। NPC
