काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संविधानको सिंहावलोकन गर्दै यसको सकारात्मक पक्षको संरक्षण, गणतन्त्र र राष्ट्रियताको सुदृढीकरण तथा सामाजिक–आर्थिक रूपान्तरणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
संविधान दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै खनालले संविधानसभाबाट संविधान जारी भएको १२औँ वर्षमा प्रवेश गर्दा मुलुकले आफ्ना समस्याको समाधानका लागि राष्ट्रिय वैधानिक आधार निर्माण गरेको र कानुनी राज्यको अनुभूति गराउने प्रयास गरेको उल्लेख गरेका छन्।
उनले संविधानको भाग–४ ले मार्गदर्शन गरेको सामाजिक–आर्थिक रूपान्तरणलाई सत्तामा रहेका जिम्मेवार राजनीतिक दलका नेतृत्वले देश, जनता र राष्ट्रको हितलाई सर्वोपरि राखेर अघि बढाएको भए मुलुकको अवस्था अहिलेभन्दा फरक हुने दाबी गरेका छन्।
खनालले राजनीतिक नेतृत्वको दिशाहीनता र आत्मकेन्द्रित प्रवृत्तिका कारण मुलुक ‘जेन्जी आन्दोलन’ र त्यसैका नाममा भएको ‘भदौ २४ को महाविध्वंश’सम्म पुगेको उल्लेख गरेका छन्। त्यसपछि संविधानमाथि प्रश्न उठ्ने, असंवैधानिक रूपमा अन्तरिम सरकार गठन हुने र आकस्मिक निर्वाचनको अवस्था सिर्जना भएको उनको भनाइ छ।
संविधान संशोधनको बहसप्रति पनि खनालले गम्भीर चासो व्यक्त गरेका छन्। उनले कुनै व्यक्ति, समूह वा गुटको निहित स्वार्थका लागि संविधान संशोधन गर्न नहुने बताउँदै त्यसले संविधान, गणतन्त्र र राष्ट्रियतामाथि नै जोखिम निम्त्याउन सक्ने बताएका छन्।
खनालका अनुसार हरेक १० वर्षमा संविधानको सिंहावलोकन गर्नु स्वाभाविक र औचित्यपूर्ण भए पनि संविधान संशोधन यसको आफ्नै अन्तर्निहित प्रक्रियामार्फत विवेकपूर्ण ढंगले गरिनुपर्छ। संविधान समयसापेक्ष र गतिशील साझा दस्तावेज भएकाले यसको सकारात्मक पक्षलाई सुदृढ गर्दै नकारात्मक पक्षमा आवश्यक सुधार गर्नुपर्ने उनले बताएका छन्।
उनले संविधानलाई केवल राजनीतिक व्यवस्थाको दस्तावेजका रूपमा नभई जनताको दैनिक जीवन र सामाजिक–आर्थिक रूपान्तरणसँग जोडेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
खनालले संविधान दिवसका अवसरमा सबैलाई नेपाली जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाको सुनिश्चिततासहित सामाजिक–आर्थिक रूपान्तरणका लागि संविधानलाई सुविचारित रूपमा उपयोग गर्न आग्रह गरेका छन्।

