महिलाको नेतृत्व, रोजगारी, समान अधिकार र डिजिटल हिंसाविरुद्ध प्रभावकारी कदम चाल्न माग; सडक नाटकमार्फत लैङ्गिक हिंसाविरुद्ध जनचेतना

काठमाडौं, २५ नोभेम्बर। महिलामाथि हुने सबै प्रकारका हिंसा, विभेद, छुवाछूत तथा उत्पीडन अन्त्यको माग गर्दै La Via Campesina (लाभिया क्याम्पेसिना), World March of Women (विश्व महिला मार्च) तथा अन्य नागरिक समाज संघ संगठनहरूले आज शान्तिपूर्ण प्रदर्शन आयोजना गरेका छन् ।

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस तथा १६ दिने अभियानको सुरुवातकाे अवसरमा आयोजित प्रदर्शनमा सहभागीहरूले महिलामाथि हुने शारीरिक, मानसिक, सामाजिक, आर्थिक तथा डिजिटल हिंसाविरुद्ध आवाज उठाउँदै समानता, न्याय, सम्मान र सुरक्षित समाज निर्माणको माग गरेका छन्।

प्रदर्शनका क्रममा लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सडक नाटक (Mistica) प्रस्तुत गरिएको थियो। नाटकमार्फत समाजमा विद्यमान पितृसत्तात्मक सोच, लैङ्गिक विभेद, महिला उत्पीडन तथा हिंसाका विभिन्न स्वरूपलाई उजागर गर्दै हिंसामुक्त समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता र संघर्ष आवश्यक रहेको सन्देश दिइएको थियो।

प्रदर्शनकारीहरूले राज्यका सबै तहमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चित गर्नुपर्ने माग गरेका छन्। महिलाको रोजगारी तथा स्वरोजगारमा पहुँच विस्तार, आर्थिक आत्मनिर्भरता र समान अवसरको सुनिश्चितता हुनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

त्यस्तै, बालबालिकालाई समावेशी, सुरक्षित तथा गुणस्तरीय शिक्षाको अधिकार सुनिश्चित गर्नुपर्ने, महिलामाथि हुने डिजिटल हिंसा, अनलाइन दुर्व्यवहार, घृणात्मक अभिव्यक्ति तथा साइबर बुलिङ अन्त्य गर्न प्रभावकारी कानुनी व्यवस्था र सामाजिक सचेतना अभियान सञ्चालन गर्नुपर्ने माग गरिएको छ।

आयोजकहरूले महिला हिंसा व्यक्तिगत घटनाका रूपमा मात्र नभई पितृसत्तात्मक संरचना, सामाजिक असमानता, आर्थिक शोषण तथा विभेदसँग जोडिएको संरचनागत समस्या भएको बताएका छन्। हिंसाको अन्त्यका लागि राज्यका निकाय, सामाजिक संघसंस्था, समुदाय र नागरिक सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको भनाइ छ।

महिला अधिकारकर्मी तथा प्रदर्शनमा सहभागीहरूले महिला अधिकार, समानता, सामाजिक न्याय र स्वतन्त्रताको सुनिश्चितताबिना समतामूलक समाज निर्माण सम्भव नहुने उल्लेख गर्दै हिंसाविरुद्ध निरन्तर सामूहिक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

प्रदर्शनले महिलामाथि हुने हिंसा र विभेद अन्त्य गरी महिलाको सम्मान, स्वाभिमान, स्वतन्त्रता, नेतृत्व तथा अधिकार सुनिश्चित गर्न सबै पक्ष एकजुट हुन आह्वान गरेको छ।
शान्तिपूर्ण प्रदर्शनमा महिला किसान, युवा विद्यार्थीका साथै पुरुष अभियन्ताहरू समेतको उल्लेख्य सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2