काठमाडौं, २५ नोभेम्बर। अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवातका अवसरमा La Via Campesina, World March of Women र Youth Advocacy Nepal को आयोजनामा काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरिएको छ।
प्रदर्शनमा सहभागी महिला, युवा, किसान तथा अधिकारकर्मीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा, लैङ्गिक विभेद, जातीय विभेद तथा छुवाछूत, शोषण र उत्पीडन अन्त्य गर्न माग गरेका छन्। उनीहरूले महिलाको सम्मान, समानता, स्वतन्त्रता, न्याय र सुरक्षित जीवनको अधिकार सुनिश्चित गर्न राज्य तथा समाजका सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।
प्रदर्शनका क्रममा लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सडक नाटक प्रस्तुत गरिएको थियो। नाटकमार्फत घरेलु हिंसा, सामाजिक विभेद, महिलामाथिको दुर्व्यवहार, असमान शक्ति सम्बन्ध तथा हिंसालाई सामान्य ठान्ने सामाजिक सोचविरुद्ध सशक्त सन्देश प्रवाह गरिएको थियो।
प्रदर्शनकारीहरूले महिलाको अधिकार केवल कानुनी कागजमा सीमित नभई व्यवहार, सामाजिक संरचना, आर्थिक अवसर र राजनीतिक निर्णय प्रक्रियामा समेत सुनिश्चित हुनुपर्ने माग गरेका छन्। राज्यका सबै तह तथा निकायमा महिलाको अर्थपूर्ण सहभागिता, नेतृत्व र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरूको जोड थियो।
त्यस्तै, महिलाको रोजगार तथा स्वरोजगारमा पहुँच विस्तार, समान ज्याला, सम्मानजनक श्रम, आर्थिक आत्मनिर्भरता र उत्पादनका स्रोतमा समान अधिकार सुनिश्चित गर्नुपर्ने माग उठाइएको थियो। विशेषगरी किसान महिला, श्रमिक महिला, भूमिहीन महिला, दलित महिला, आदिवासी जनजाति महिला तथा सीमान्तकृत समुदायका महिलाले भोग्दै आएका संरचनागत असमानता र बहुआयामिक हिंसालाई सम्बोधन गर्नुपर्नेमा प्रदर्शनकारीहरूले जोड दिएका थिए।
बालबालिकालाई समावेशी, सुरक्षित तथा गुणस्तरीय शिक्षाको अधिकार प्रदान गर्दै विद्यालय र सार्वजनिक स्थानलाई हिंसामुक्त बनाउनुपर्ने, बालविवाह, बालश्रम, यौन दुर्व्यवहार तथा बालबालिकामाथिको शोषण अन्त्य गर्न प्रभावकारी कदम चाल्नुपर्ने मागसमेत गरिएको थियो।
डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै महिलामाथि हुने अनलाइन दुर्व्यवहार, चरित्रहत्या, धम्की, घृणाजन्य अभिव्यक्ति, साइबर बुलिङ, निजी तस्वीर तथा सामग्रीको अनधिकृत प्रसारण र डिजिटल माध्यमबाट हुने लैङ्गिक हिंसा अन्त्य गर्न प्रदर्शनकारीहरूले माग गरेका छन्। डिजिटल संसार पनि महिलाका लागि सुरक्षित, सम्मानजनक र भयरहित हुनुपर्ने उनीहरूको भनाइ थियो।
आयोजक संस्थाहरूले लैङ्गिक हिंसा व्यक्तिगत घटना मात्र नभई पितृसत्तात्मक सोच, सामाजिक असमानता, आर्थिक निर्भरता, विभेदकारी संस्कृति र शक्ति सम्बन्धसँग जोडिएको संरचनागत समस्या भएको बताएका छन्। हिंसा अन्त्यका लागि पीडितलाई दोष दिने प्रवृत्ति रोक्न, पीडित तथा प्रभावित व्यक्तिको आवाजलाई सम्मान गर्न, न्यायमा सहज पहुँच सुनिश्चित गर्न र हिंसा गर्ने व्यक्तिलाई कानुनी जवाफदेहितामा ल्याउन आवश्यक रहेको उनीहरूको धारणा छ।
संयुक्त राष्ट्रसंघको आह्वानअनुसार हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन गरिन्छ। यस वर्षको अन्तर्राष्ट्रिय अभियानको मूल सन्देश “महिला तथा बालिकामाथिको हिंसा अन्त्य गरौँ: न्याय सुनिश्चित गरौँ, पीडित तथा प्रभावितको संरक्षण गरौँ र दण्डहीनता अन्त्य गरौँ” रहेको छ। अभियानले हिंसाबाट प्रभावित व्यक्तिका लागि न्याय, सुरक्षा, संरक्षण, सहयोग र जवाफदेहिताको सुनिश्चिततामा जोड दिएको छ।
महिला हिंसा अन्त्यको अभियान घर, समुदाय, कार्यस्थल, विद्यालय, सार्वजनिक क्षेत्र र डिजिटल संसार सबै ठाउँमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै आयोजकहरूले पुरुष, युवा, नागरिक समाज, राजनीतिक दल, सरकारी निकाय, सञ्चारमाध्यम र समुदायलाई सामूहिक रूपमा हिंसाविरुद्ध उभिन आह्वान गरेका छन्।
“महिलामाथिको हिंसा अन्त्य गर्नु महिलाको मात्र जिम्मेवारी होइन, समानता, न्याय र मानव मर्यादामा विश्वास गर्ने प्रत्येक व्यक्ति र समाजको साझा जिम्मेवारी हो। मौनता होइन, प्रतिरोध; विभेद होइन, समानता; हिंसा होइन, सम्मान र न्याय हाम्रो साझा संकल्प हुनुपर्छ,” अभियानको सन्देश रहेको छ।
१६ दिने अभियानले महिलाको सुरक्षित जीवन, स्वतन्त्रता, आत्मसम्मान, समान अधिकार, आर्थिक न्याय, राजनीतिक नेतृत्व र हिंसामुक्त समाज निर्माणका लागि निरन्तर सामूहिक आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ।



















