काठमाडौं । सत्ता गठबन्धनले आज शुक्रबार काठमाडौं उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ । बिहीबार भरतपुरमा चुनावी सभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो ।
सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । काठमाडौं महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार हुनुहुन्छ भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार रहनुभएको छ ।
बिहीबार भरतपुरमा आयोजित चुनावी सभामा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडौंमा सभा गर्न लागेका हुन् ।
कांग्रेसले यसअघि २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिसकेको छ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार हुनुहुन्छ । कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ ।