पोखरा । ३० गते हुने स्थानीय चुनावका लागि अहिले सरकारदेखि सार्वजनिक निकायमा कार्यरत सबै संघ संस्था र कर्मचारीलाई आचारसंहिता लागू भइसकेको छ । तर, आचारसंहिता विपरित पोखरा महानगरले भने विपन्न परिवार लक्षित सहयोग वितरणको तयारी थालेको छ । ९ महिना अघि नाम संकलन गरेर ‘होल्ड’ मा राखेको पोखराले मतदानको मुखमा आएर फाइल फुकाएको हो । करिब १४ सय परिवारलाई महानगरले १० हजारका दरले रकम वितरण गर्न लागेको बताएको छ ।
१ हजार ३ सय ४६ जनाको नाममा अहिले महानगरले दावी विरोधका लागि वडामा पठाइको हो । दावी विरोधका लागि सूचना निकालिएको र लाभग्राहीलाई खाता खोल्न भनिएको छ । अहिले एनआईसी एसिया बैंकले वडावडामा पुगेर खाता खोलिरहेको छ । वैशाख ९ गते कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार हस्तान्तरण रकम प्राप्त गर्ने लाभग्राहीको दावी विरोध सम्बन्धी सूचना निकालेको थियो । त्यसपछि खाता खोल्ने प्रक्रिया अहिले चलिरहेको छ ।
सबैभन्दा बढी लाभग्राही एमालेले जितेका वडाबाट छनोट भएका छन् । वडा नम्बर १३ मा मात्रै ७ सय १३ जनाको नाम पठाईएको छ । अधिकांश एमालेले जितेका वडाबाट लाभग्राही छनोट गरिएको छ । वडा नम्बर १५ मा १ सय ६६ जना, १९ मा ८४ जना, १७ मा ६४ जना, १६ मा ६० जना, २२ मा ७९ जनाको नाम छ । यस्तै, २८ मा ४४ जना, २४ का २०, २९ का २३ जना, २१ मा ९ जना, ८ का दुई जना र २५ मा १ जनाले रकम पाउँदै छन् । कांग्रेसले जितेका केही वडा पनि समेटिएका छन् । तर लाभग्राही निकै कम छन् । सबैभन्दा धेरै लाभग्राही वडा नम्बर १२ मा ३२ जना छन् भने २ मा १७ जना, ९ का १४ जना, ३ र १० का ५÷५ जना तथा ३२ को १ जनाले रकम पाउने छन् ।
महानगरका सूचना अधिकारी भरतराज पौडेलले नगद बाँड्ने कुरामा चुनाव नजोडिएको बताउनुभयो । प्रक्रिया पहिलेदेखि नै चलिरहेको भए पनि संयोगले अहिले नाम प्रकाशन भएको उहाँले बताउनुभयो । छिटो खाता नम्बर पठाउन नसके रकम फ्रिज हुन सक्ने भएकोले हतार गरिएको उहाँले दाबी गर्नुभयो । उहाँले आचारसंहिताका विषय जोडिएकोले केही परिमार्जन गर्नुपर्ने बताउनुभयो । तर अहिले नै पैसा बाँडिहाल्न लागेको भन्ने कुरामा सत्यता नभएको उहाँको भनाइ छ ।
यो कार्यक्रम संघ सरकारको हो । लाभग्राहीको छनोट गर्न उपमेयरको संयोजकत्वमा समिति गठन भएको छ । अहिले उपमेयर नभए पनि कार्यक्रम भने रोकिएको छैन । विपक्षीहरुले भने महानगरले चुनावका बेला पैसा देखाएर मत प्रभाव पार्न खोजेको आरोप लगाएका छन् । कांग्रेस सभापति किशोरदत्त बरालले काम राम्रो भएपनि सही समय नभएको बताउनुभयो ।