भोट फर बालेन !


कान्ति न्यौपाने । काठमाडौंको मेयरमा उठेका उम्मेद्वार केशव स्थापित मलाई आशा लाग्ने नेतामध्येका एक थिए । उनका एजेण्डा र योजना सुन्दा उनलाई मेयरमा स्थापित गराउनै पर्छ भन्नेमा मेरो पनि जोड थियो । प्राय: उनका समाचार र पोष्टहरु हेरिरहेकै हुन्थेँ ।

तर, धुम्बाराहीस्थित नेसनल कलेजले विहिवार आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा भावना राउत नामकी विद्यार्थीहरुले स्थापितलाई लागेको ‘मी टु’ आरोपको बारेमा प्रश्न गर्दा उनले दिएको प्रतिक्रिया सुनेपछि भने उनको भित्री सोचाईँ थाहा पाएँ । उनी वसिरहेको कुर्सीबाट उठेर प्रश्नकर्तामाथि नै जंगिए ।

‘मलाई आरोप लगाइयो । आरोप लगाउनेसँग प्रमाण हुनु पर्छ । ‘यु आर नाइस लेडी तर तपाईको थुतुनो ठिक छैन’– उनले भने । उनको यो अभिव्यक्तिपछि एउटी महिलालाई हेर्ने उनको दृष्टिकोण कस्तो रहेछ भन्नेमा पनि प्रष्ट भए । रिसले चुर भएका स्थापितले ‘केशव स्थापित रिसको भाडा हो । नरिसाउनु भन्न पाइन्छ’ भन्दै जवाफ दिए ।

त्यसपछि राउतले ‘तपाईंमाथि आरोप लागिसकेपछि कि त खण्डन गरेर निर्दोष रहेको प्रमाणित गर्नुपर्‍यो नभए मेयर जस्तो पदमा बस्ने नैतिकता तपाईंलाई हुन्छ? ’ भनेर सोधेकी थिइन् । तर, उनी रिसले यति बर्रबराइरहेका थिए कि कुन पद, कुन मर्यादामा छु भन्ने भुलेर आक्रोशित शैलीमा जवाफ दिईरहेका थिए ।

यसबाटै पनि उनको वास्तविक स्वरुप के हो र एउटी महिललाई हेर्ने दृष्टिकोण कस्तो छ भन्ने प्रष्ट हुँदैन र ? सावर्जनिक कार्यक्रममै यसरी झम्टिन खोज्ने स्थापितले एक्लै हुदाँ कोही व्यक्तिलाई नराम्रो नगर्लान् भनेर भन्न सकिन्छ र ? उनको यु आर नाइस लेडी तर तपाईको थुतुनो ठिक छैन’ भन्ने अभिव्यक्तिले उनी महिलाको सुन्दरताप्रति कति आकर्षित छन् भन्ने प्रष्ट हुँदैन र ? उनले प्रश्नकर्तालाई महिला र केटी मान्छेको दृष्किोणबाट भन्दापनि एउटी सुन्दरीको नजरबाट हेर्ने गरेका रहेछन् ।

साइकोलोजीका पिता फ्रायडले मानिसको मनोविज्ञानलाई तीन भागमा विभाजन गरेका छन् , चेतन (Conscious) , अवचेतन (Sub–Conscious) र अर्धचेतन (Unconcious) । उनका अनुसार मन एउटा अमूर्त वस्तु हो । मनलाई देख्न सकिन्न तर मनका कुराहरु अनुभव गर्न सकिन्छ । चेतन मन, समय र समाजको नियम कानून वा बन्धनहरुद्वारा परिचालित एवं परिवेष्ठित हुने हुँदा यसले व्यक्तिका अन्यत्र प्रकृतिहरुको प्रदर्शन र कहिलेकाही प्रस्फुटनमा समेत वाधा पर्ने देखिन्छ । परिणामस्वरुप अब्यक्त इच्छाहरु स्वान्तरित वा नक्कली रुपमा प्रदर्शित हुन जान्छन् ।

हो, फ्रायडको विश्लेषण जस्तै मेयरका उम्मेद्वार स्थापितको महिलाप्रतिको अन्र्तमनमा रहेको दृष्टिकोण प्रश्नकर्ताको प्रश्नपछि सावर्जनिक मञ्चमै छताछु्ल्ल भएको छ । यद्यपि उनलाई जोगाउन पूर्वप्रधानमन्त्री समेत रहेका केपी ओली चुनाव लागेपछि मि टु सी टु भन्दै आउँछन् भनेर हलुका जवाफ दिएका छन् । अनि हिजो मीटुको पक्षमा रहेका उनकै पार्टीका महिला नेतृहरुले पर्ररर ताली पिटेका छन् । यसबाट के प्रष्ट हुन्छ भने पार्टीका नेता कार्यकर्ताले समर्थन र सहयोग जे गरेपनि मतदाताले भने भोट दिने बेला विवेक पुर्याउँनुको विकल्प छैन।

अहिलेको घटना मात्रै होईन, चार वर्षअघि काठमाडौं महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले आफूहरूमाथि स्थापितले यौन दुब्र्यवहार गरेको आरोप लगाएका थिए । तर, त्यसको सत्यतथ्य बाहिर नआउँदै उनी सानका साथ उम्मेद्वार बनेर हिँडेका छन् । उनीसँगै रहने महिला कर्मचारी वा उपमेयरको उम्मेद्वार कसरी सुरक्षित हुनसक्छन् भन्नेमा यी घटनाहरुले आशंका उब्जाएको छ ।

यसैबीच पनि उनीसँग सम्बन्धित विभिन्न अडियो र भिडियो सावर्जनिक भईरहेका छन् । विभिन्न घटनाक्रमले पटक पटक विवादित भएका अझ महिला हिंसाको मुद्धा टुंगो नलागेका व्यक्तिलाई जिताएर थप अपेक्षा के गर्न सकिन्छ त ? विदेशतिरको चलन हेर्ने हो भने विवादित व्यक्तिले सावर्जनिक पद धारण गरेको भए आफैँ राजीनामा दिने वा हटाउने चलन हुन्छ तर नेपालमा जो विवादित छ उसैलाई पार्टीले बढाईचढाईँ गरेर टिकट दिन्छन्, त्यसले गर्दा पनि जनप्रतिनिधिले सोचेजस्तो परिणाम नदिन सक्छन् ।
स्थापितसँगै प्रतिस्पर्धामा होमिएका अर्का चर्चित उम्मेद्वार हुन् बालेन शाह, बहुदलीय प्रणालीलाई नै चुनौती दिनेगरी उनले दिएको उम्मेद्वारी र पाएको समर्थन हेर्दा सबैभन्दा बढी चर्चित र आकर्षणको केन्द्रमा शाह नै देखिन्छन् । हुनत, धेरै व्यक्तिहरु पार्टीसँग चित्त नबुुझेपनि वा टिकट नदिएपनि स्वतन्त्र उठ्ने हिम्मत भने गर्दैनन् किनभने उनीहरुलाई स्वतन्त्र ढंगले उठेर जितिन्छ भन्ने लाग्दैन ।

तर, विभिन्न चुनौतीको सामाना गर्ने साहसका साथ एउटा युवा फरक ढंगबाट मैदानमा आउनु भने प्रशंसायोग्य कुरा हो । तसर्थ, पनि होला बालेन शाहका समर्थकको संख्या दिनहुँ बढिरहेको छ भने उनलाई भोट दिएर जिताउन सामाजिक सञ्जालदेदखि विभिन्न व्यक्तिहरुले समेत अपिल गरिरहेका छन् ।

कलाकारिता र इन्जिनियरिङ्ग पेशामा रहेका बालेनलाई सामाजिक सञ्जालको एउटा जनमतले भने ठूलो विश्वासका साथ जिताउन अपिल गरिरहेको छ । उनी अहिले नेतृत्व गरिरहेकाहरु भन्दा त फरक हुन् वा होईनन् भन्ने त उनले गर्ने कामले पुष्टि गर्ला तर, अहिले नयाँ योजना र एजेण्डा सहित आएका बालेनलाई विश्वास नै गर्न नहुने भन्ने पनि त होईन ।

उनले टेलिभिजनमा दिएको अन्र्तवार्ता, उनको आत्मविश्वास र योजना देख्दा उनलाई समर्थन गर्नु आवश्यता पनि हो । निर्वाचन आयोगले चुनाव चिन्ह लौरो दिएपछि उनले ‘ज्येष्ठ नागरिकलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने’ भन्दै प्रचार समेत गरेका छन् । उनले जारी गरेको घोषणापत्र पनि तुलनात्मक रुपमा अन्य दल र उम्मेद्वारको भन्दा प्रभावकारी देखिन्छ ।

उनका योजनामा डिजिटल सरकारदेखि आइडिया बैंकसम्म रहेका छन् । उनले व्यक्तिगत घटना दर्ता, वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्ने प्रतिबद्धता पनि जनाएका छन् । सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने, सूचनाको हक र खरिद, टेन्डर प्रक्रिया र बजेटको पारदर्शिता डिजिटल माध्यमबाट गर्ने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरुको होम डेलिभरी गर्ने योजना अरुको भन्दा भिन्न र प्रभावकारी देखिन्छ ।

युवाहरुलाई व्यक्तिगत करियर मार्ग पत्ता लगाउन मद्दत गर्ने उद्देश्यले करियर परामर्श र कोचिङ कक्षा उपलब्ध गराउने पनि शाहको प्रतिबद्धता छ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षा दिने गरी शिक्षा क्षेत्रमा सुधार गर्ने पनि उनको योजना छ । हुनत, उनीसँग प्रतिस्पर्धामा रहेका अन्य उम्मेद्वार पनि जनतालाई फकाउने योजना सहितको एजेण्डा लिएर आएका छन् ।

तर, ती सबै जनताले लिएको परीक्षामा फेल भईसकेका छन् । नत्रभने स्वतन्त्र उठेका बालेनलाई आज यति धेरै समर्थन र साथ मिल्न असम्भव हुन्थ्यो । दलीय व्यवस्थामा हजारौँको संख्यामा संगठित भएको दलमा भन्दापनि एउटा स्वतन्त्र व्यक्तिलाई विश्वास गरेर जनमत अघिपछि लाग्नु बालेन शाहको लागि गर्व र चुनौती दुवै हो ।

हुनत, बालेन शाहले जित्ने सम्भावना तुलनात्मक रुपमा कम होला तर एउटा स्वतन्त्र व्यक्तिको समर्थनमा हजारौँ भोट आउनुपनि सानो विषय भने होईन, सामाजिक सञ्जालमा भएको ठूलो प्रचारले भन्दा पनि मतदाताको मनस्थितीले मात्रै उम्मेद्वारले चुनाव जित्ने हो ।

वर्षोदेखि एमाले कांग्रेस भनेर बसेका व्यक्तिहरुलाई काम गर्ने प्रतिबद्धता सहित मनस्थिती परिवर्तन गराउन सक्ने हो भने सो बालेनको जित असम्भव पनि छैन । तर, काम गर्छु भनेर एजेण्डा सहित आएको व्यक्तिलाई जिताउनेबारे काठमाडौंवासीले सोच्ने हो भने उनले काम गर्ने अवशर पनि पाउने थिए र जनतामा टेस्टेड पनि हुने थिए ।

तसर्थ एकपटक बालेनलाई अवशर दिउँ, अन्य व्यक्ति र पार्टी जनतामा पहिल्यै परिचित हुँदा बालेनको कामलाई यो पटक हेरौँ र उनलाई चुनाव जिताएर स्थापितलाई विस्थापित गरौँ । यो पटक सबैमा आवह्वान, ‘ भोट फर बालेन ‘!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us