लाइसेन्सको नयाँ आवेदन जेठ ४ बाट

काठमाडौं। सवारी चालक अनुमपति पत्र (लाइसेन्स) को नयाँ आवेदन जेठ ४ गतेबाट सर्वसाधारणको लागि खुल्ने भएको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार अहिलेसम्मको तयारी जेठको पहिलो साताभित्र अनलाइन आवेदन खुल्ला गर्ने हो । ‘जेठ १ गत्ते नै खोल्ने भनिएको थियो, निर्वाचनले गर्दा जेठ ४ गते सारिएको हो,’ सूचना अधिकारी पनेरुले भन्नुभयो, ‘कुनै प्राविधिक समस्या नआए तोकिएकै समयभित्र सुरु हुने छ ।’

वहाँका अनुसार वैशाख अन्तिमसम्म पुराना सबै लाइसेन्स वितरण गरिसकिने छ । ‘पुराना लाइसेन्स जति छन्, अहिले धमाधम प्रिन्ट गर्ने काम भइरहेको छ,’ वहाँले भन्नुभयो, ‘त्यसैले सबै पुराना लाइसेन्स वितरण गरेर मात्र नयाँ आवेदन खुल्ला गरिन लागेको हो ।’ विभागले वैशाख अन्तिमसम्म सबै लाइसेन्स वितरण गरीसक्ने दाबी गर्दै आएको छ । जवकि वैशाख तेस्रो साता वित्दा १ लाख ९० हजार लाइसेन्स प्रिन्ट (छाप्न) गर्नै बाँकी छ । अहिले दैनिक ६ हजारका दरले लाइसेन्स छाप्ने काम भइरहेको छ । यही संख्यामा लाइसेन्स छाप्दा वैशाखभित्र सक्न मुस्किल पर्ने छ । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार उपत्यका बाहिरका कार्यालयहरुको पुरानो लाइसेन्स प्रिन्ट गरिसकिएको छ ।

सन् २०२१ को सबै लाइसेन्स प्रिन्ट सकिसकेको छ । सन् २०२२ को मात्र बाँकी रहेको वहाँको भनाइ छ । लाइसेन्सका लागि आवेदन दिएकाहरुलाई सन् २०२४ नोभेम्बरसम्म समय तोकिएपनि त्यसलाई व्यवस्थापन गर्ने काम भइरहेको वहाँको दाबी छ । अब पहिलाको जस्तो लामो समय लाइसेन्सका लागि पर्खिनु नपर्ने र आवेदन दिएको १५ दिनभित्र लाइसेन्सका लागि प्रक्रिया अर्थात लिखित र ट्रायल परीक्षा अघि बढाउने गरी कार्यालयले बोलाउने छ । त्यस्तै नवीकरण लाइसेन्सको पनि प्रक्रिया थालेको तीन सातामा काठमाडौंमा र उपत्यका बाहिर एक महिना भित्र उपलब्ध गराइने बताउनु भयो । आवेदन दिने बेला नै देशभरका यातायात कार्यालयमा कति जनाले लाइसेन्स परीक्षा दिन सक्छन् भन्ने कुरा आवेदकहरूले अनलाइनबाटै हेर्न सक्ने व्यवस्था गरिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us