तीन दशक राजनीति गरेर स्वतन्त्र बस्नुभएका अधिकारी एकीकृत समाजवादीमा प्रवेश

हेटौँडा । तीन दशक लामो राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिबाट राजीनामा दिएर स्वतन्त्र बस्नु भएका मकवानपुरका नेता मधु अधिकारी नेकपा एस अर्थात् नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नु भएको छ ।

आइतबार पोखरा पुगेर अधिकारी समाजवादीमा समाहित हुनु भएको हो । उहाँलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले टीका लगाएर स्वागत गर्नु भयो । ‘पार्टीमा उचित र सम्मानित भूमिका दिइनेछ,’ नेपालले भन्नुभयो, ‘राजनीति सहअस्तित्व र सहभागितात्मक हुनुपर्छ, कसैलाई काखापाखा र अन्याय गरिनेछैन, यही विभेदविरुद्ध एमालेमा विद्रोह गरेर नयाँ पार्टी स्थापना गरिएको हो ।पार्टी प्रवेशपछि अधिकारीले समाजवादी यात्रामा सक्रिय रहने बताउनु भयो ।

उहाँले राप्रपामा अझै पनि अवसरवाद, नातावाद र सामान्तवादको अभ्यास जारी रहेको र संगठनमा दिलो ज्यान दिनेहरु अवसरबाट विमुख हुने क्रम अरु बढेकाले विद्रोह गरेको बताउनुभयो ।

को हुन् मधु अधिकारी ?

२०२२ सालमा हेटौँडामै जन्मनु भएका अधिकारी २०४७ सालमा बहुदल स्थापनापछि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर जिल्ला समितिको संस्थापक हुनुहुन्छ ।

उहाँले हेटौँडा नगर अध्यक्ष, जिल्ला सचिव, उपसभापति, सभापति, बागमती प्रदेश उपाध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्यके भूमिकामा कार्य गरिसक्नु भएको छ । वडाध्यक्ष हुँदै हेटौँडाको मेयर पनि भइसक्नुभएका अधिकारीले सन १९८० मै सिंगापुरबाट ब्लाक बेल्ट लिनु भएको हो ।

पाँचवटा राष्ट्रिय खेलमा पनि सहभागी अधिकारीले पार्टीको मुखपत्र हलो मासिकको सम्पादक भएर काम गर्नु भएको छ भने मकवानपुरको ५० को दशकमा पत्रकारिता पनि गर्नु भयो ।

उहाँले कोसेली साप्ताहिक र मकवानपुर सन्देश पत्रिका पनि सम्पादन तथा प्रकाशन गर्नु भएको थियो ।यस्तै, राप्रपा मकवानपुरका प्रवक्ता विषभ अधिकारी पनि राप्रपा परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *