आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीको तलब सुविधा बढाउने तयारी

काठमाडौं । सरकारले आउँदो जेठ १५ गते प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीको तलब सुविधा बढाउने तयारी गरेको छ । 

अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी नयाँ बजेटमा सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटबाट कर्मचारीको तलब बढाउने तयारी गरेको हो ।

चालू आवको बजेट सार्वजनिक गर्दा पूर्वअर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब नबढाएर भत्ता सोलोडोलो २ हजारले बढाउनुभएको थियो । यसपालि भने तलब नै २ हजार रुपैयाँले बढ्ने भएको हो । भत्ताको भार सरकारलाई तत्कालका लागि मात्रै परे पनि कर्मचारीको मासिक तलब वृद्धिको असर भने दीर्घकालसम्म पर्नेछ । बढेको तलबले अवकाशप्राप्त कर्मचारीका लागि सरकारको सामाजिक सुरक्षा खर्च (निवृत्तिभरण) व्यवस्थापनमा पनि चाप पर्नेछ । 

हाल अर्थ मन्त्रालयले सिलिङको आधारमा बजेटको तयारी गरिरहेको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४७ अर्ब रुपैयाँ बजेट सिलिङ दिएको छ । यसैको आधारमा छलफल भइरहेको मन्त्रालय स्रोतको भनाइ छ ।

यसैबीच संसदको बजेट अधिवेशन जेठ ३ गतेबाट शुरु हुने भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते मंगलवारका लागि संसद बैठक आह्वान गर्नुभएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us